नेभिगेशन
समाज

वर्षासँगै हिमपात : हिउँदे बालीलाई फाईदा, भूकम्पपीडितलाई घात

रुकुम पश्चिम । बिहानैदेखि देशभर हिउँदे वर्षा सुरु भएको छ । चिसो बढेसँगै परेको पानी र हिमपातका कारण हिउँदे बालीलाई फाईदा पुग्ने भएतापनि भूकम्पपीडितको जनजीवन थप कष्टकर बनेको छ ।

भूकम्पले घर भत्काएपछि अहिले केहि पीडितहरु अस्थायी आवासमा र केहि पीडितहरु त्रिपालमै बस्दै आएका छन् । बिहानैदेखि परेको हिउँको कारण उनीहरु थप पीडामा परेको प्रतिक्रिया दिएका छन् । आठविसकोट नगरपालिका –१४ ज्यामिरकोट गाउँका बिजय मल्लले जनजीवन थप कष्टकर बनेको बताउनुभयो ।

उहाँका अनुसार हिउँदे वर्षासँगैको हिमपातले भूकम्पपीडितहरुको बसाईलाई प्रत्यक्ष प्रभाव परेको छ । मल्लले अस्थायी टहरा निर्माणको काम पुरा नभएको र चर्किएकै घरमा बस्नुपर्ने बाध्यता रहेको जनाउनुभयो । 

पानी पर्न थालेपछि चर्किएको घरबाट पानी चुहिन थालेको बताउँनुहुँदै उहाँले भन्नुभयो, ‘यहि घर पनि ढल्ने होकी भन्ने पीर बढेको छ, बाहिर निस्कने अवस्था पनि छैन ।’ भूकम्प गएको तीन महिना बितिसक्दा पनि अस्थायी आवासको काम नै पुरा गर्न नसकेको भन्दै उहाँले सरकार समक्ष गुनासो गर्नुभयो । 

xepare gau (2)1706768177.jpg

आठविसकोट नगरपालिका –१४ छेपारे गाउँकी भूकम्पपीडित देवकली पुन मगरले राती देखि पानी पर्न थालेपछि चिन्ता बढ्न थालेको बताउनुभयो । ‘चिसो असाध्यै बढेको छ,’ उहाँले भन्नुभयो, ‘बालबच्चा र जेष्ठ नागरिकहरुलाई बाहिर निस्कनै गाह्रो भईरहेको छ ।’

उहाँका अनुसार घरको नियमित कामसँगै अस्थायी आवास निर्माणको काम समेत प्रभावित बनेको छ । टिनले छाएका अस्थायी टहरा र त्रिपालको भरमा पानीसँगै हिमपातको सामना गर्न कठिनाई भईरहेको उहाँको भनाई छ । 

हिमपातको कारण हिउँदे खेती गरेका किसानहरुलाई भने फाईदा पुग्ने बताईएको छ । पानी र हिउँको कारण गहुँ र जौ खेतीलाई फाईदा पुग्ने बताईन्छ । यस वर्षको हिउँद याममा पहिलोपटक पानी र हिउँ परेको हो ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज

बजेट सक्न एकै ठाउँमा आठ मन्दिर