आजदेखि स्यार्पूमा 'पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव'

'पर्यटन प्रवद्र्धन र स्थानीय उत्पादनको बजारीकरण गरिने'
बिहीबार, असोज ११, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका–३ मा आज देखि “स्यार्पू पर्यटन, व्यापार तथा साँस्कृतिक महोत्सव” सुरु हुने भएको छ । 

कर्णालीकै पर्यटकियस्थलका रुपमा रहेको स्यार्पूताल परिसरमा असोज ११ गतेदेखि असोज २१ गतेसम्म महोत्सव लाग्ने भएको हो । बाँफिकोट गाउँपालिकाले राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानको व्यवस्थापनमा महोत्सव आयोजना गरेको हो । 

महोत्सवको तयारी पुरा भएको राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठानका जिल्ला अध्यक्ष तुल देवकोटाले जानकारी दिनुभयो । महोत्सवको कर्णाली प्रदेशका मुख्यमन्त्री राजकुमार शर्माले उद्घाटन गर्ने अध्यक्ष देवकोटाले जनाउनुभयो । 

पर्यटकियस्थलको प्रचार र स्थानीय उत्पादनको बजारीकरणको लागि महोत्सव आयोजना गरिएको हो । विगतमा खेलकुद र स्थानीय झाँकि तथा नाचगानसहितको महोत्सव हुने गरिएतापनि यस वर्ष कलाकारहरुको प्रस्तुतिसहित महोत्सव भव्य हुने बताईएको छ । स्यार्पूताल परिसरमा विगत १३ वर्ष देखि महोत्सव लाग्दै आएको छ । 

प्रतिष्ठानका अध्यक्ष देवकोटाले राष्ट्रिय कलाकारको प्रस्तुति तथा व्यापारिक स्टल सहितको महोत्सव हुने जानकारी दिनुभयो । स्यार्पू तालको थप प्रचार तथा पर्यटन प्रवद्र्धन  र स्थानीय उत्पादनको व्यापारलाई लक्षित गरेर महोत्सव सञ्चालन गर्न लागिएको अध्यक्ष देवकोटाले बताउनुभयो ।  

यस पटक राष्ट्रिय कलाकारहरुको प्रस्तुती व्यापारिक स्टलहरू सहितको महोत्सव आयोजना गरिएको हो । यसका साथै महोत्सवमा भलिबल प्रतियोगिता, स्थानीय झाँकिहरु प्रदर्शनी र स्थानीय उत्पादनको बजारीकरण गरिनेछ । 

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  ०६:०३
प्रतिक्रिया दिनुहोस्