बैतडी जिप दुर्घटना अपडेट : चार प्रहरीको मृत्यु, नौ जना घाईते

बैतडी / बैतडीको पाटनमा भएको जिप दुर्घटनामा परी मृत्यु हुनेको संख्या ४ पुगेको छ । दुर्घटनामा परी घाइते ९ जना भएका छन् । घाइतेमध्ये ३ जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।

मृत्यु हुनेमा प्रहरी तालिम केन्द्र दीपायलमा कार्यरत प्रहरी सहायक हवल्दार अर्जुन कठायत, सोही स्थानमा कार्यरत प्रहरी जवान लोकबहादुर बाँठामगर, बिर्खबहादुर विष्ट र जिल्ला प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवान रमेश साउद रहेका छन् ।

इलाका प्रहरी कार्यालय पाटन बैतडीका अनुसार घाइते रहेका जिप चालक बाहेक सबै नेपाल प्रहरी हुन् । 

दुर्घटनामा परेर आठ जना प्रहरी र एक चालक घाइते भएका छन् । घाइते हुनेमा प्रहरी हवल्दार गणेश खड्का, प्रहरी सहायक हवल्दार गोपालबहादुर पाल, प्रहरी जवान पुतली खड्का, प्रहरी जवान नरेश कठरिया, आशा धामी, भानु विष्ट, टीकेन्द्र ऐरी, चन्द्रसिंह ठगुन्ना र चालक देवराम महर रहेका छन् ।

३ जना प्रहरीको घटनास्थलमै मृत्यु भएको र एक जनाको उपचारका लागि अस्पताल लैजाँदै गर्दा मृत्यु भएको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख कमलप्रसाद चौधरीले बताए ।

घाइते २ जनाललाई नेपाली सेनाको हेलिकप्टर मार्फत उपचारको लागि कोहलपुर लगिएको छ । अन्य गम्भीर घाइते लैजानका लागि पनि हेलिकप्टर फेरि आउने बताईएको छ ।

दशरथचन्द राजमार्ग अन्तर्गत पाटन नगरपालिका ४ को थूममा जिप दुर्घटनामा परेको हो । जिल्ला सदरमुकाममा मतपेटिका पुर्‍याएर फर्किँदै गरेको प्रहरी टोली चढेको जिप सडकबाट करिब ३ सय मिटर तल खसेको जनाईएको छ ।

प्रकाशित मिति: सोमबार, मंसिर ५, २०७९  १२:११
प्रतिक्रिया दिनुहोस्