नेभिगेशन
समाज

आठबिसकोट र मुसिकोटका ९८९ लाभग्राहीको आवास पुनर्निर्माणको लागि पहिलो किस्ता माग

२०८० कार्तिक १७ गते जाजरकोट केन्द्रबिन्दु भएर गएको भूकम्पले क्षति भएका रुकुम पश्चिमका निजि आवास पुनर्निर्माणका लागि पहिलो किस्ताको रकम माग भएको छ । मङ्गलबार सम्पन्न जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले आठबिसकोट र मुसिकोट नगरपालिकाका ९८९ लाभग्राहीको आवास निर्माणको लागि पहिलो किस्ताको रकम माग गर्ने निर्णय गरेको हो । 

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमका अनुसार भूकम्प प्रभावित निजि आवास पुनर्निर्माण कार्यविधि, २०८० (संशोधनसहित) बमोजिम सम्झौता गरी आवश्यक कागजात तथा प्रक्रिया पुरा गरेका लाभग्राहीहरुको लागि आवास निर्माणको अनुदान माग गर्ने निर्णय भएको छ । उहाँले सम्पूर्ण प्रक्रिया पुरा गरेर स्थानीय विपद् व्यवस्थापन समितिबाट रकम मागका भई आएकाहरुको विवरण रुजु गरेर राष्ट्रिय विपद् जोखिम न्यूनकिरण तथा व्यवस्थापन प्राधिकरणमा प्रथम किस्ताको रकम निकासाको लागि अनुरोध गर्ने निर्णय भएको बताउनुभयो ।

प्रशासन कार्यालयका अनुसार पुनर्निर्माणका लागि प्रति लाभग्राही ५० हजारका दरले पहिलो किस्ताको चार करोड ९४ लाख ५० हजार रुपियाँ माग गर्ने निर्णय भएको छ । मुसिकोट नगरपालिकाका २५ जना र आठबिसकोट नगरपालिकाका ९६४ जना लाभग्राहीको आवास पुनर्निर्माणको लागि पहिलो किस्ता माग गरिएको हो । 

यस अघि गत साउन २६ गते बसेको जिल्ला विपद् व्यवस्थापन समितिको बैठकले जिल्लाका विभिन्न चार पालिकाका ७६६ जनाको आवास निर्माणको लागि पहिलो किस्ताको रकम माग गर्ने निर्णय गरेको थियो । मुसिकोट नगरपालिकाका ६५ जना, चौरजहारी नगरपालिकाका १६२, त्रिवेणी गाउँपालिकाका ३०२ र सानीभेरी गाउँपालिकाका २३७ जना लाभग्राहीको लागि पहिलो किस्ता माग गरिएको थियो । 

तर माग गरिएको मध्य ७०१ जनाको लागि मात्र रकम आएको थियो । मुसिकोट नगरपालिकाका ६५ जना बाहेक अन्य सबैको पहिलो किस्ताको रकम आएकोले सम्बन्धित पालिकाको खातामा निकाशा पठाईसकिएको प्रशासन कार्यालयले जनाएको छ ।

विपद् व्यवस्थापन समितिका थप निर्णय

आजको बैठकले पहिलो किस्ता रकम माग गर्ने निर्णय गर्नुका साथै अन्य निर्णयहरु पनि गरेको छ । बैठकले आजभन्दा ठिक तीन वर्ष अघिको भूकम्पमा परेर ज्यान गुमाउनु हुने प्रति मौनधारण गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण तथा परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ । 

बैठकले विपद्को घटना परी मृत्यु भएका व्यक्तिका नजिकका हकदारलाई मुसिकोट नगरपालिकाले उपलब्ध गराएको दुई लाख राहत रकमको शोधभर्ना गरेर रकम उपलब्ध गराउने निर्णय गरेको छ ।  

त्यसैगरी सानीभेरी गाउँपालिकाको वडा नम्वर ८, ९ र १० मा असोज १९ गतेको अविरल वर्षाका, बाढी, पहिरो, हावाहुरी र चट्यांगका कारण भएको क्षतिको विवरण अनुसार राहत तथा पुनर्निर्माणको लागि मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय कर्णाली प्रदेशलाई अनुरोध गर्ने निर्याय भएको छ । 

बैठकले मुसिकोट नगरपालिका ७ स्थित पाछागाउँमा निरन्तर गईरहेको सुख्खा पहिरोको स्थलगत अध्ययन, अनुसन्धान र प्राविधिक मूल्यांकनका लागि बिशेषज्ञको टोलीको व्यवस्था गर्न राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणलाई अनुरोध गर्ने निर्णय गरेको छ । 

प्रमुख जिल्ला अधिकारी निशानराज गौतमको अध्यक्षतामा भएको बैठकमा स्थानीय तहका प्रमुख एवम् उपप्रमुखहरु, विभिन्न राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिहरु, गैरसरकारी महासंघ, उद्योग वाणिज्य संघ, पत्रकार तथा विपद् व्यवस्थापन समितिका पदाधिकारीहरुको उपस्थिति रहको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज