नेभिगेशन
समाज

मन्त्रीद्वयद्वारा आठबिसकोट नगर अस्पतालको निरीक्षण

कर्णाली प्रदेश सरकारका दुई जना मन्त्री लगायतको टोलीले शुक्रबार आठबिसकोट नगर अस्पतालको निरीक्षण गरेको छ । 

प्रदेश सरकारका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री मिलन खड्का रोका र उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्री कल्याणी खड्काले आठबिसकोट नगरपालिका ९ स्थित नगर अस्पतालको स्थलगत निरीक्षण गर्नुभएको हो।

निरीक्षणका क्रममा उहाँहरुले अस्पतालको सेवा प्रवाह, जनशक्ति अवस्था तथा अस्पतालले भोगिरहेका समस्याबारे जानकारी लिनुभएको थियो। अस्पताल प्रशासनले जनशक्ति अभावका कारण २४ घण्टा सेवा प्रवाह गर्न कठिनाइ भइरहेको जानकारी गराएको थियो।

सो अवसरमा मन्त्री मिलन खड्का रोकाले सीमित जनशक्तिका बीच पनि अस्पतालले सचेततापूर्वक र प्रभावकारी रूपमा सेवा प्रवाह गरिरहेकोमा धन्यवाद व्यक्त गर्दै आगामी दिनमा अझ प्रभावकारी र गुणस्तरीय सेवा प्रवाहमा जोड दिनुभयो।

अस्पतालले भोगिरहेका समस्याप्रति ध्यानाकर्षण भएको बताउँदै मन्त्री रोकाले सम्बन्धित निकायसँग आवश्यक समन्वय गरी समस्या समाधानका लागि पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। उहाँले अन्तर–मन्त्रालय समन्वयमार्फत अस्पतालको सेवा प्रवाहलाई थप व्यवस्थित र प्रभावकारी बनाउन पहल गरिने बताउनुभयो।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्