नेभिगेशन
समाज

मुसिकोटका नगर करार शिक्षकले सात महिनादेखि तलब पाएनन्

तलब र पोशाकको माग गर्दै सुरु भयो आन्दोलन

रुकुम पश्चिमको मुसिकोट नगरपालिका भित्रका विभिन्न विद्यालयमा कार्यरत शिक्षकहरुले विगत सात महिनादेखि तलब पाएका छैनन् । 
लामो समयसम्म तलब नपाएकापछि यहाँका नगर करार शिक्षकहरु आन्दोलनमा उत्रिएका छन् । 

नगर करार शिक्षक समितिका अध्यक्ष खिमबहादुर ओलीका अनुसार मुख्य रुपमा तीन वटा माग राखेर शिक्षकहरु आन्दोलनमा उत्रिनु परेको छ । उहाँले महिनौसम्म तलब नपाएकोले तत्काल तलब उपलब्ध गराउनु पर्ने, साबिकको तलब स्केलमा समयानुकुल बृद्धि गरिनुपर्ने र नगर शिक्षकहरुलाई पोशाक भत्ता उपलब्ध गराईनुपर्ने मागसहित आन्दोलनमा उत्रिएको बताउनुभयो । 

आन्दोलनका कार्यक्रम अन्तर्गत बुधबार जिल्ला प्रशासन कार्यालयमा जानकारीसहितको ध्यानाकर्षण पत्र बुझाईएको छ भने मुसिकोट नगरपालिकाको कार्यालयमा बिरोध तथा धर्ना कार्यक्रम गरिएको छ । बुधबारबाट सुरु भएको आन्दोलनका कार्यक्रमहरु स्वरुप बदेलर निरन्तर गरिने उहाँले बताउनुभयो । 

अध्यक्ष ओलीका अनुसार मुसिकोट नगरपालिकामा ८५ जना आधारभूत र माध्यमिक तहका करार शिक्षकहरु कार्यरत हुनुहुन्छ । उहाँहरुले गत फागुन १५ गतेदेखि तलब समेत पाउनु भएको छैन । नेपाल सरकारले मासिक रुपमा शिक्षकहरुलाई तलब उपलब्ध गराउने नीति ल्याएका पनि सात महिनासम्म तलब भत्ता नपाउनु असाध्यै दुखद भएको उहाँले उल्लेख गर्नुभयो ।

तलबको बिषयमा पटक पटक नगरपालिकाको ध्यानाकर्षण गराउँदा पनि सुनुवाई नभएको, अन्तिम पटक गत भदौ १३ गते ज्ञापन पत्र समेत बुझाईएको उहाँले जानकारी दिनुभयो । मागहरुको वेवास्ता भएपछि नगर शिक्षकहरुको भेलाले आन्दोलनका कार्यक्रमहरु गर्ने निर्णय समेत गरेको गर करार शिक्षक समितिका अध्यक्ष ओलीले जनाउनुभयो । 

मुसिकोट नगरपालिकाले नगर करार शिक्षकहरुका मागहरु समय सान्दर्भिक रहेको जनाएको छ । तत्कालै कार्यपालिका बैठक बस्न सक्ने अवस्था नरहेको, नगरपालिकाको स्रोत कमजोर रहेकोले तलब बढाउने बारेमा कार्यपालिकामै छलफल गर्नुपर्ने जानकारी नगर पालिकाका प्रवक्ता समिर जंग मल्लले दिनुभयो ।

उहाँका अनुसार नगरपालिकामा स्रोत नहुँदा नियमित रुपमा तलब व्यवस्थापन गर्न कठिनाई भएको छ । उहाँले नियमित तलबको बिषयमा दसै अघि नै व्यवस्थापन गर्नेगरी पहल गरिने बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्