नेभिगेशन
समाज

बाँफिकोटको तिल्ला खोलामा निर्माण भएको मोटरेबल पुलको उद्घाटन

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिका ३ र ४ स्थित तिल्चा खोलामा मोटरेबल पुल निर्माण भएको छ । कर्णाली प्रदेश सरकार अन्तर्गत पूर्वाधार विकास कार्यालयमार्फत ठेक्का आह्वान भएको यो पुल सम्झौता नसकिदै निर्माण भएको हो । 

बाँफिकोट गाउँपालिकाको छिनखेतबाट पिपल–पोखरा हुँदै रुकुमपूर्व जाने सडकखण्ड अन्तर्गत बालुवाचौरमा निर्मित यो पुलको कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा शहरी विकास मन्त्री मिलन खड्काले उद्घाटन गर्नुभएको छ ।

बुधवार नवनिर्मित पुलको उद्घाटन गर्नुहुँदै मन्त्री खड्काले निर्माण व्यवसायी असल र विकासमैत्री भएमा समयमै काम सम्पन्न गर्न सकिन्छ भन्ने उदाहरणका रुपमा तिल्चाखोलामा बनेको पुललाई लिन सकिने बताउनुभयो ।

उहाँले कर्णाली प्रदेश सरकारले समयमै काम नगर्ने, विभिन्न बहानाबाजीमा विकास निर्माणका काममा ढिलाई गर्ने, योजनाहरु रुग्न बनाउने प्रवृति बिरुद्ध कार्य गर्न थालेको बताउनुभयो । काम नगर्ने प्रवृति बढेकोले त्यस्ता ठेकेदारहरुको जमानत जफत देखि ठेक्का रद्ध गर्नेसम्मका काममा मन्त्रालय लागेको उहाँले बताउनुभयो । 

पुल उद्घाटन कार्यक्रममा कर्णाली प्रदेश सरकारका उद्योग, पर्यटन, वन वातावरण मन्त्री कल्याणी खड्का, प्रदेश सभा सदस्य महेन्द्र केसी, जिल्ला समन्वय समितिका उप प्रमुख देवबहादुर बिक, बाँफिकोट गाउँपालिका अध्यक्ष जनकुमार बाँठा, प्रमुख जिल्ला अधिकारी निशानराज गौतम लगायतको आतिथ्यता रहेको थियो । 

कार्यक्रममा अधिकांस वक्ताहरुले विकास आयोजना अलपत्र पार्ने ठेकेदारहरुले यो कार्यबाट सबक सिक्नुपर्नेमा जोड दिएका छन् । उनीहरुले बिकास निर्माणमा ढिलाई गरेर सवृसाधारणहरुलाई दुख नदिन समेत अनुरोध गरेका छन् । तिल्चा खोलामा पुल नहुँदा सर्वसाधारणहरुले सास्ती पाईरहेका थिए । बिशेषगरी वर्षायाममा यो खोलाले मानविय क्षति समेत गर्ने गरेकोले अव सर्वसाधारणलाई सहज हुने बताईएको छ । 

पुल निर्माणका लागि पूर्वाधार विकास कार्यालय चौरजहारीले २०८२ असार २० गते निर्माण व्यवसायी ज्वालामुखी हिमशिखर हिरा जे.भि.सँग सम्झौता गरेको थियो । २०८४ असार २० गतेसम्म सम्पन्न हुने गरी सम्झौता गरिएतापनि करिब दश महिना अघि नै तयार भएको हो । दुई स्पान प्रिस्टेज ६३ मिटर लामो यो पुल निर्माणका लागि भ्याटसहित आठ करोड २२ लाख ११ हजार ३४८ रुपियाँ २१ पैसामा सम्झौता भएको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्