नेभिगेशन
समाज

बाँफिकोटका शिक्षण सिकाइ अनुदान शिक्षकका समस्या समाधान गर्न माग

रुकुम पश्चिमको बाँफिकोट गाउँपालिकाभित्रका विभिन्न सामुदायिक विद्यालयमा कार्यरत संघीय शिक्षण सिकाइ अनुदान कोटाका शिक्षकहरूले आफ्ना पेशागत तथा सेवासम्बन्धी समस्या समाधान गर्न गाउँपालिकासँग माग गरेका छन्।

संघीय शिक्षण सिकाइ अनुदान शिक्षक बाँफिकोट गाउँपालिका समितिले गाउँपालिकामा ध्यानाकर्षण पत्र बुझाउँदै शिक्षकहरूको हकहित, पेशागत स्थायित्व तथा शैक्षिक गुणस्तर अभिवृद्धिका लागि विभिन्न पाँचबुँदे माग अघि सारेको हो।

समितिले शिक्षण सिकाइ अनुदान कोटामा कार्यरत सम्पूर्ण शिक्षकको विवरण एकीकृत शैक्षिक व्यवस्थापन सूचना प्रणालीमा यथाशीघ्र र अनिवार्य रूपमा प्रविष्ट तथा अद्यावधिक गर्ने व्यवस्था मिलाउन माग गरेको छ।

यसैगरी संघीय सरकारको मापदण्डअनुसार योग्यता पुगेका शिक्षण सिकाइ अनुदान कोटाका शिक्षकलाई पालिकास्तरीय विशेषज्ञ,स्रोत शिक्षकका रूपमा सूचीकृत गरी रोस्टर निर्माण गर्न माग गरिएको छ।

ध्यानाकर्षण पत्रमा विभिन्न कारणले बाँफिकोट गाउँपालिकाबाट विस्थापित भएका शिक्षण सिकाइ अनुदान कोटामा कार्यरत शिक्षकहरूलाई पुनः साविकको वा पायक पर्ने विद्यालयमा पुनःस्थापना गर्न विशेष प्राथमिकता दिनसमेत माग गरिएको छ।

यसैगरी, शिक्षक नियुक्ति तथा भर्ना व्यवस्थापनका क्रममा आवश्यक पर्ने भर्ना खर्चसम्बन्धी स्पष्ट नीति बनाई गाउँपालिकाबाट नियमानुसार शोधभर्ना तथा व्यवस्थापन गर्ने व्यवस्था मिलाउन आग्रह गरिएको छ। समितिले पालिकाभित्र विस्थापित भएका सम्पूर्ण शिक्षकको यथार्थ तथ्यांक तथा स्पष्ट अभिलेख तयार गरी उनीहरूको पेशागत सुरक्षाको प्रत्याभूति गर्न पनि माग गरेको छ।

ध्यानाकर्षण पत्रमा उल्लेखित मागहरूलाई गम्भीरतापूर्वक लिई यथाशीघ्र सकारात्मक निर्णय कार्यान्वयन गरिएमा शिक्षकहरूको पेशागत समस्या समाधान हुनुका साथै विद्यालयको शैक्षिक वातावरण र शिक्षण सिकाइमा समेत सुधार आउने समितिको विश्वास रहेको उल्लेख छ।

संघीय शिक्षण सिकाइ अनुदान शिक्षक समिति, बाँफिकोटका अध्यक्ष शिवकुमार बोहोराको नेतृत्वमा गएको शिक्षकहरुको टोलीले गाउँपालिकाका उपाध्यक्ष तारा बुढा समक्ष ध्यानाकर्षण पत्र पेश गरेको हो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्