नेभिगेशन
समाज

बालबालिकाहरु लागु औषधको कुलतमा फसेको भन्दै चिन्ता 

एकिकृत कार्ययोजना बनाएर लागु औषध दुरुपयोग रोक्नुपर्नेमा जोड 

रुकुम पश्चिममा लागु औषध नियन्त्रणका लागि एकिकृत कार्ययोजना निर्माणमा जोड दिईएको छ ।  

मंगलबार जिल्ला प्रशासन कार्यालयमा भएको लागु औषध नियन्त्रणका लागि सुरक्षा निकाय र सरोकारवालासँगको छलफलमा सहभागीहरुले साझा कार्य योजना बनाएर कार्यान्वयन गर्नुपर्नेमा जोड दिएका छन् । 

छलफलमा प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले स्थानीय तह, विषयगत कार्यालय, अभिभावक, स्कुल, प्रहरी लगायतका निकायको लक्ष्य नै तोकेर योजना बनाउन आवश्यक रहेको बताउनुभयो । उहाँले कार्य योजना अनुसार जिम्मेवारी तोकेर परिचालन हुँदा परिणाम हाँसिल गर्न सकिने उल्लेख गर्नुभयो ।

प्रजिअ गौतमले साझा कार्ययोजनाका लागि सामाजिक विकास कार्यालयले नेतृत्व गर्नुपर्ने बताउनुभयो । उहाँले जिल्लामा लागुऔषधको उत्पादन, बिक्रि वितरण र सेवनको अवस्था चिन्ताजनक रहेकोले सबै पक्ष एकजुट भएर साझा कार्ययोजना कार्यान्वयन गनर्नुपर्नेमा जोड दिनुभयो । 

कार्यक्रममा प्रहरी निरीक्षक झविन्द्र परियारले लागु औषधको परिचय, असर तथा न्यूनीकरणका उपाय र जिल्लाको अवस्था लगायतको बारेमा सहजीकरण गर्नुभएको थियो । छलफलका क्रममा सामाजिक विकास कार्यालयका प्रमुख मितलेश कुमार यादवले कार्यालयले शिक्षा, सामाजिक समावेशीकरण र सामाजीक विकृति रोकथाम बिषयमा सचेतनामूलक कार्यक्रमहरु सञ्चालन गर्ने तयारी गरेको जानकारी दिनुभयो । 

विजयश्वरी ईङगलिस मिडियम बोर्डिङ स्कुलका प्रिन्सिपल जय बहादुर थापाले लागु औषध सेवनको असर विद्यालयस्तरमा परेको बताउनुभयो । उहाँले लागु औषध सेवनको असरले बच्चाको भविष्य र परिवारको आर्थिक अवस्थामा प्रत्यक्ष असर परेको जनाउनुभयो । यस अघि विद्यालयस्तरमा सञ्चालन भएका प्रशिक्षणहरु प्रभावकारी भएको उल्लेख गर्नुहुँदै थापाले सबै पक्षले समन्वय गरेर एकीकृत योजना बनाउन आवश्यक रहेको बताउनुभयो ।

जिल्ला सदरमुकामका कतिपय रेष्टुरेन्टहरुमा हुक्का लगायतका लागुऔषधजन्य सेवनमा बालबालिकाहरु समेत संलग्न भएको पाईएको जानकारी दिनुहुँदै थापाले विद्यालयको एक सय मिटर आसपास मदिरा तथा सुर्तीजन्य पदार्थ बेच्न नपाइने कानूनको कार्यान्वयनमा जोड दिन अनुरोध गर्नुभयो । 

कार्यक्रममा गैरसरकारी संस्था महासंघका अध्यक्ष भिमराज ओलीले लागुऔषध सेवनको अवस्था भयावह बन्दै गएकोले सबै मिलेर रोकथाम गर्नतर्फ गम्भिर हुनुपर्ने बताउनुभयो । विद्यालयस्तरमा सचेतना अभिवृद्धिका कार्यक्रमलाई तिब्रता दिन र अभिभावक शिक्षा समेत सञ्चालन गर्न आवश्यक रहेको उहाँले बताउनुभयो । 

यमुनानन्द नमूना माविका प्रधानाध्यापक कमप्रसाद देवकोटाले विद्यालयस्तरमा सचेतिकरणका कार्यक्रम सञ्चालन गर्दा प्रभावकारी हुने बतानुभयो । उहाँले लागुपदार्थको उत्पादन, उपभोग र बिक्री वितरणको विवरण यकिन गर्न समस्या भएतापनि पहिचान गर्न जरुरी भएको उल्लेख गर्नुभयो  । अभिभावक सचेतना कार्यक्रममा जनप्रतिनिधिहरुलाई जोड्न सकेमा स्थानीयस्तरमा प्रभावकारी पैरवी हुने उहाँको भनाइ छ । 

रुकुम उद्योग वाणिज्य संघका अध्यक्ष पल बहादुर खड्काले गहिराइमा पुगेर समस्या पत्ता लगाउने र समाधानका उपायमा मिलेर काम गर्ने बानीको विकास हुनुपर्ने बताउनुभयो । उहाँले आफ्ना बालबालिकाहरुको रेखदेख तथा निगरानीमा अभिभावकहरुको चासो नै नहुँदा विद्यार्थीहरु समेतले लागुऔषध सेवन गर्ने मात्रा बढेको बताउनुभयो । 

ईन्सेकका जिल्ला प्रतिनिधि जीवन खड्काले लागु औषध सेवनको अवस्था सदरमुकाममा विकराल भएको बताउनुभयो । उहाँले जिल्लाका विभिन्न स्थानहरुमा अफिमको खेती हुने गरेको, प्रहरीले नष्ट गर्ने गरेको खबर थाह हुने तर खेती भएको जग्गा धनी पत्ता नलाग्ने गरेकोले यसमा कडाई गर्न आवश्यक रहेको बताउनुभयो । खड्काले जिल्ला सदरमुकाममा बालबालिकाहरुमा यौन दुराचार हुने गरेको उल्लेख गर्नुहुँदै यसतर्फ बेलैमा एक्सन लिन आवश्यक रहेको बताउनुभयो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्