नेभिगेशन
समाज

भेरी नदिको टापुमा फसेका चार जनाको हेलिकप्टरमार्फत उद्धार

जाजरकोटको भेरी नगरपालिका -१३ स्थित भेरी नदिको टापुमा फसेका चार जनाको उद्धार गरिएको छ । 

आईतबार दिउँसो चार बजे कुदुस्थित भेरी नदि किनारको टापुमा फसेका चार जनाको नेपाली सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो । 

जिल्ला प्रहरी कार्यालयका जाजरकोटका अनुसार भेरी नगरपालिका –१३ कुदु निवासी ३२ वर्षीय का नन्दलाल बि.क., ४१ वर्षीय खिमबहादुर गिरी, ३४ वर्षका विशाल सुनार र ३२ वर्षका धनबहादुर सिंह ठकुरीलाई उद्धार गरिएको हो ।

नदिको बिच भागमा सर्वसाधारणहरु फसेको सूचना लगत्तै जिल्ला सुरक्षा समितिका सम्पुर्ण पदाधिकारीहरु घटनास्थलमा पुगी नेपाल विपद् प्राधिकरणसँगको समन्वयमा नेपाली सेनाको हेलिकप्टरबाट उनीहरुको उद्धार गरिएको हो । 

स्थानीयका अनुसार उनीहरु नदिले बगाएर ल्याएको दाउरा निकाल्न भनेर नदि किनारमा गएका थिए । लगातारको बर्षाको कारण नदिको बहाव उच्च रहेको छ । 

नदि किनारका अधिकांस सर्वसाधारणहरु वर्षायाममा नदिले बगाएको दाउरा संकलन गरेर वर्षदिनसम्म घरको काम चलाउने गर्दछन् । उनीहरुले जङ्गलमा दाउराको अभाव र बजारमा ग्यासको अभाव हुने भएकोले भेरीको दाउरा निकाल्न जानु बाधयता रहेको बताउने गरेका छन् ।

स्थानीय प्रशासनले नदि किनारमा सचेतता अपनाउन आग्रह गरेको छ । दाउरा निकाल्न, माछा मार्न, फोटो तथा भिडियो बनाउने लगायतका कार्य नगर्न र थप सतर्कतचा अपनाउन प्रशासनले आग्रह गरेको छ ।  प्रशासनले भने ज्यानको बाजी राखेर जोखिमपूर्ण कार्य नगर्न अनुरोध गर्दै आएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्