नेभिगेशन
समाज
संक्रमणकालिन न्याय

सामाजिक सद्भाव बिथोल्न नहुनेमा द्वन्द्वपीडित र सरोकारवालाको जोड

रुकुम पश्चिमका द्वन्द्वपीडित र सरोकारवालाहरुले पछिल्लो समय सशस्त्र द्वन्द्वको कारण प्रभावितहरु बिच सामाजिक सद्भाव बढ्दै गएको उल्लेख गरेका छन् । स्थानीयस्तरमा विगतको राजनीतिक तुष बिर्सेर एकता कायम हुन थालेको भन्दै संक्रमणकालिन न्यायको नाममा विगतको घाउ कोट्याउन नहुने उनीहरुको भनाइ छ । 

नेपाल पिस बिल्डिङ इनिशियटिभले आयोजना गरेको संक्रमणकालिन न्यायका लागि नीतिगत संवाद कार्यक्रममा सहिदपुत्र एवम् राजनीतिज्ञ नन्दु बिष्टले बसेका घाउका टाटाहरु बल्झाउने काम हुने गरेको गुनासो गर्नुभयो । उहाँले विगतको जस्तो तिक्तता स्थानीयस्तरमा नरहेकोले बढीरहेको सद्भाव बिथोल्न नहुनेमा जोड दिनुभयो ।

द्वन्द्वरत प्रमुख दलहरु, फरक फरक दलका कम्युनिष्ट घटकहरु गठबन्धन गरेर चुनावमा होमिएको, चुनावी एजेन्डाहरु साझा बनाएको स्मरण गर्नुहुँदै उहाँले गाउँमा बढीरहेको सौहार्दता भत्काउन नहुने बताउनुभयो । 

अन्तरपार्टी महिला रक्षक सञ्जालका अध्यक्ष ब्युँझना पुनले दुई दशक पुरा हुँदा पनि उही द्वन्द्वकै कुरामा अल्झिरहने हो भने पीडितहरुको घाउ बल्झाएको जस्तो हुने तर दीर्घकालिन समस्या समाधान नहुने गरेको बताउनुभयो । द्वन्द्वका नाममा विभिन्न संयन्त्र तथा आयोगहरु बन्दा पनि पीडितहरुले न्यायको महशुस गर्न नसकेको उल्लेख गनुहुँदै उहाँले पीडितको भोगाईलाई अरु कसैलेको अनुभूतिसँग दाँज्न नहुने बताउनुभयो । 

कार्यक्रममा द्वन्द्वपीडित सन्दिप पुनले सशस्त्र द्वन्द्वको बेला बुवा र आमा गुमाउँदा आफू नाबालक रहेको बताउँनु हुँदै संक्रमणकालिन न्यायको कुरा तीन पुस्ताको जिम्मेवारीसम्म पनि अधुरै रहेको बताउनुभयो । उहाँले वर्तमान सरकारका पात्रहरुलाई सशस्त्र द्वन्द्व बारेमा अनविज्ञता रहेकोले द्वन्द्व रुपान्तरणको क्षेत्रमा चासो नै नरहेको बताउनुभयो । 

कार्यक्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सचिव दिपेन्द्र बिष्टले संक्रमणकालिन न्याय भनेको विगतलाई सम्झने मात्र नभएर न्यायपूर्ण वर्तमान र शान्तीपूर्ण भविष्यको आधार हुनुपर्ने बताउनुभयो । उहाँले प्रमुख दलहरुले दुई दशकसम्म नै द्वन्द्व रुपान्तरणलाई प्राथमिकता नदिएको बताउनुभयो ।

कार्यक्रममा ईन्सेकका प्रतिनिधि जीवन खड्काले विगतको द्वन्द्वका विभिन्न सवालहरु अहिलेको सरकारको प्राथमिकतामा नपरेको उल्लेख गर्नुभयो । सशस्त्र द्वन्द्वपछि नेपालमा मेलमिलापको प्रयास नै नभएको उहाँले बताउनुभयो । 

नेपाल पत्रकार महासंघ कर्णाली प्रदेशका उपाध्यक्ष लक्ष्मण केसीले न्याय खोज्दा खोज्दै कतिपयले मृत्युवरण गरिसकेको अवस्था रहेको बताउनुभयो । उहाँले पछिल्लो समय गाउँमा सामाजिक सहिष्णुता बढीरहेको जानकारी दिनुहुँदै पार्टीगत बैमनष्यता मेटिदै गएको बताउनुभयो ।

आउँदा दिनहरुमा सद्भाव बिग्रन नदिन सत्य, न्याय, परिपुरण, नीतिगत सुधार र फेरि द्वन्द्व हुन नदिने सुनिश्चितता गर्न राज्य नै जिम्मेवार हुनुपर्नेमा उहाँको जोड छ ।

संवाद कार्यक्रममा अधिकारकर्मी सुरेन्द्र खत्रीले पीडितहरुका कुरा र मागहरु ओझेलमा परेको बताउनुभयो । उहाँले द्वन्द्वको बेला अन्यायमा परेकाहरुले न्यायको आश मारिसकेको उल्लेख गर्नुहुँदै पीडितहरुले पुरानो घाउ कोट्याउन आग्रह गरेको बताउनुभयो । पीडितहरुले दिएका उजुरीहरु उपर कुनै सम्बोधन नभएको, द्वन्द्वका घटना स्मरण गराएर झन् पीडा बोध हुने गरेको गुनासो गर्ने गरेका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज