नेभिगेशन
समाज

संविधान दिवस : रुकुममा सरसफाई, फलफूल वितरण, शैक्षिक सहयोग र वृक्षारोपण सम्पन्न

संविधान दिवस तथा राष्ट्रिय दिवस, २०८३ को अवसरमा शुक्रबार रुकुम पश्चिममा विभिन्न कार्यक्रमहरु गरिएको छ ।

दिवस सञ्चालन तथा व्यवस्थापनको गठित समितिको आयोजना तथा विभिन्न कार्यालयहरुको सहभागितामा जिल्ला सदमुकाम मुसिकोट खलङ्गाको बजार क्षेत्रमा सरसफाई गरिएको हो । 

त्यसैगरी जिल्ला अस्पताल सल्लेमा भर्ना भएका बिरामीहरुलाई फलफूल वितरण गरिएको प्रमुख जिल्ला अधिकारी निशान राज गौतमले जानकारी दिनुभयो । उहाँका अनुसार जिल्ला समन्वय समितिका उपप्रमुख देवबहादुर बिक, मुसिकोट नगरपालिकाका प्रमुख महेन्द्र केसी, जिल्लास्थित सुरक्षा निकायका प्रमुखहरु लगायतको सहभागितामा फलफूल वितरण गरिनुका साथै बिरामीहरुको स्वास्थ्य लाभको कामना गरिएको हो ।

दिवसकै अवसरमा मुसिकोट नगरपालिका १ सल्लेमा रहेको सरस्वती माध्यमिक विद्यालयमा रहेका अपांगता भएका बालबालिकाहरुलाई विभिन्न खेलकुद सामाग्रीहरु वितरण गरिएको छ । रुकुमेली समाज विकास केन्द्रको सहयोगमा विद्यालयमा सञ्चालित बहिरा तथा सुस्त श्रवन स्रोत केन्द्रमा अध्ययनरत १० जना विद्यार्थीहरुलाई खेलकुद सामाग्री हस्तान्तरण गरिएको हो ।

 दिवसकै अवसरमा वृक्षारोपण कार्यक्रम समेत सम्पन्न गरिएको छ । डिभिजन वन कार्यालयको व्यवस्थापनमा स्वास्थ्य सेवा कार्यालयको परिसरमा वृक्षारोपण गरिएको हो । डिभिजन वन कार्यालयका प्रमुख बसन्तबाबु श्रेष्ठका अनुसार पारिजात, कपुर, कल्कीफूल, वीरेन्द्र फूल, गुलमोहर लगायतका सौन्दर्यमूलक सदावहार प्रजातीका विरुवा रोपण गरिएको हो । 

दिवस व्यवस्थापन तथा सञ्चालन समितिको निर्णय अनुसार आज जिल्लास्थित सबै सरकारी कार्यालयहरुमा सरसफाई समेत गरिएको छ । कार्यालय परिसर सरसरफाई कार्यक्रम सम्न्धित कार्यालयहरुले गरेका हुन् ।

दिवसको दिन शनिबार जिल्ला सदरमुकाममा प्रभातफेरि कार्यक्रमसहित मूल समारोह आयेजना गरिएको छ । 
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्