नेभिगेशन
समाज

विद्यार्थीलाई उद्यमशीलतामा जोड्दै मुसिकोट खलङगा बहुमुखी क्याम्पस

रुकुम पश्चिमको मुसिकोट नगरपालिका -१ मा रहेको मुसिकोट खलङगा बहुमुखी क्याम्पसले विद्यार्थीहरुलाई अध्ययनसँगै उद्यमशीलता र स्वरोजगारतर्फ जोड्न अनुदान प्रदान गर्न थालेको छ । 

विश्वविद्यालय अनुदान आयोगको आर्थिक सहयोगमा क्याम्पसले यो कार्य सुरुवात गरेको जनाएको छ । क्याम्पस प्रमुख डम्मर बहादुर खड्काका अनुसार आयोगको उद्यमशीलता कार्यक्रम अन्तर्गत प्राप्त अनुदानबाट विद्यार्थीहरुलाई अनुदान सहयोग गर्न थालिएको हो । 

उहाँले पहिलो चरणमा क्याम्पसको स्नातक तह छैटौ सेमेस्टरमा अध्ययनरत छात्रा लक्ष्मी रावललाई दुई लाख रकम प्रदान गरिएको जानकारी दिनुभयो । यसअघि सानो किराना पसलको रुपमा रहेको पसललाई बिस्तार गरेर रावलले होलसेल कारोबारको रुपमा सञ्चालन गर्नुभएको छ । मुसिकोट नगरपालिका १ मा रावलले व्यवसाय सञ्चालन गर्नुभएको छ । 

यसैगरी मुसिकोट नगरपालिका -५ मा कोलटाकुरा निवासी छात्रा एलिना ओली र रोल्पाको तातोपानी निवासी छात्रा भावना ओलीलाई पनि उक्त सहयोग प्रदान गर्ने प्रक्रिया अगाडी बढाईएको छ । एलिनाले कोलटाकुरा नजिकै कुखुरा पालन र भावनाले तातोपानीमा लसुन खेति व्यवसाय गर्ने तयारी रहेको छ । 

यस कार्यक्रमका संयोजक समेत रहनुभएका क्याम्पसका उपप्रध्यापक क्याम्पस प्रमुख खड्काका अनुसार विद्यार्थीलाई आफ्नै गाउँ-ठाउँमा उद्यम गर्न प्रोत्साहन गर्ने उद्धेश्यले सम्भावित उद्यम क्षेत्रको स्थलगत अध्ययन र परिवारसँग समेत समन्वय भइरहेको छ ।

अनुदान आयोगले हाललाई यस क्याम्पसमा १० लाख रुपियाँ अनुदानका लागि उपलब्ध गराउने सम्झौता भएको छ । यो रकमबाट गरिब तथा जेहेन्दार बिद्यार्थीलाई उनीहरुले तयार गरेको व्यवसायीक प्रस्तावनाको आधारमा उक्त रकम प्रदान गरिने क्याम्पसले जनाएको छ ।

यो रकम एक वर्षसम्म सिड मनिको रुपमा बिद्यार्थीले परिचालन गर्नेछन् । व्यवसाय सफल भएपछि र तोकिएको समय पुरा भएपछि उनीहरुले यो रकम फिर्ता गर्नुपर्नेछ । फिर्ता भएको रकम क्याम्पसका अन्य विद्यार्थीहरुलाई व्यवसायीक कार्यमा जोड्न पुनः प्रदान गरिने कार्यक्रम रहेको छ ।  

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्