नेभिगेशन
समाज

पहिरोले विद्यालयमा क्षति 

लगातारको बर्षाको कारण आएको पहिरोले रुकुम पश्चिमको एक सामुदायिक विद्यालयमा क्षति गरेको छ । गएराती आएको पहिरोले सानीभेरी गाउँपालिका ९ स्थित शिव आधारभूत विद्यालय मगरराङ्जामा क्षति भएको हो ।

विद्यालयका प्रधानाध्यापक प्रदिप कुमार खड्काका अनुसार पहिरोेले दुई कोठे पक्की भवनमा क्षति पुगेको हो । यसका साथै बालबालिकाको दिवा खाजाका लागि सञ्चालित चमेना गृह, पाँच सय लिटरको पानीको ड्रम, ग्याँसचुलो, भाडावर्तन पुरिएको उहाँले जानकारी दिनुभयो । विद्यालयमा बनेको नयाँ भवनमै ठुलो क्षति भएको हो । पहिरोले भवनमा क्षति गरेपछि पठनपाठन प्रभावित बनेको छ । 

प्रधानाध्यापक खड्काले करिब २५ लाख बराबरको क्षति भएको बताउनुभयो । पहिरोले विद्यालय भवनमा क्षति गरेपछि बालबालिकाको पढाई प्रभावित भएको छ । नयाँ भवन क्षतिग्रष्त भएपछि तत्कालको लागि पुरानो भवनमा बालबालिकाहरुलाई राखिएको छ । एउटै कोठामा दुई वटा कक्षाका विद्यार्थीहरु राखेर पठनपाठन नियमित गरिएको विद्यालयले जनाएको छ । 

विद्यालय भवनको पछाडीतिरबाट आएको ठुलो पहिरोको कारण भवन जोखिममा रहेको छ । पहिरो नहटाएसम्म बालबालिकाहरुलाई कक्षाकोठामा राख्न नसकिने विद्यालयले जनाएको छ । यस बिषयमा गाउँपालिकामा समेत जानकारी गराईसकिएको प्रधानाध्यापक खड्काले जनाउनुभयो ।

यस विद्यालयमा हाल बाल शिक्षा देखि कक्षा ५ सम्म पठनपाठन हुने गरेको छ । यहाँ ७३ जना बालबालिका अध्ययनरत रहेको विद्यालयले उल्लेख गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्