नेभिगेशन
समाज

पहिरोले गाउँ जाने सडक अवरुद्ध

लगातारको वर्षासँगै आएको पहिरोले रुकुम पश्चिमका करिब एक दर्जन ग्रामीण सडकखण्ड अवरुद्ध भएका छन् ।

मध्यपहाडी राजमार्ग, राप्ती राजमार्ग र भेरी करिडोरको रुकुम पश्चिम खण्डमा हरेक दिनजसो आउने पहिरो हटाएर यातायात सुचारु हुने गरिएतापनि ग्रामीण सडक भने बन्द अवस्थामा रहेका छन् । 

बाँफिकोट गाउँपालिका –४ को छिनखेतबाट वडानम्वर २ को पीपल हुँदै रुकुमपूर्व जोड्ने सडक पहिरो र खोलामा आउने बाढीको कारण अवरुद्ध रहेको छ । वडा नम्वर २ का वडा अध्यक्ष प्रकाश खत्रीले वडा नम्वर १ र २ मा रहेको पुमा खोला र विभिन्न स्थानमा आउने पहिरोको कारण एक साताअघिबाट सडक अवरुद्ध रहेको बताउनुभयो । 

लगातारको वर्षाको कारण मुसिकोट नगरपालिकाको बैरागीठाँटीबाट त्रिवेणी गाउँपालिकाको पेदीखेत नुवाकोट हुँदै चौरजहारी जाने सडक समेत अवरुद्ध रहेको छ । त्रिवेणी गाउँपालिका वडा नम्वर ९ का वडा सदस्य सन्तोष ओलीले निर्माणाधिन उक्त सडकखण्डको विभिन्न स्थानमा आएको पहिरोका कारण सडक अवरुद्ध रहेको बताउनुभयो । निर्माण कम्पनी समेतले तत्काल पहिरो हटाउन जोखिम रहेको बताएको उहाँको भनाइ छ । 

सानीभेरी गाउँपालिकाको सिम्लीबाट मेघाहुँदै आठबिसकोट जाने सडकखण्डमा रिम्ना नजिकै पनि पटक पटक पहिरोले सडक अवरुद्ध हुने गरेको छ । पहिरोकै कारण सानीभेरीको काँडा–बागखोर, गरायला–दुली, रिम्ना–राम्री–चाख्मीमेला सडकखण्ड अवरुद्ध रहेको वडा नम्वर ४ का वडा अध्यक्ष मनोज बुढाथोकीले जानकारी दिनुभयो । 

आठबिसकोटबाट घारीखोला मग्मा हुँदै सदरमुकाम खलङगा आउने सडकखण्ड समेत पहिरोको कारण अवरुद्ध रहेको छ । आठबिसकोटको केन्द्र राडीबाट जाजरकोटतर्फको सडकखण्ड हुँदै गोतामकोट जाने सडक समेत अवरुद्ध छ । त्यसैगरी आठबिसकोटको घेत्मा, ज्यामिरकोट जाने सडकखण्ड वर्षा सुरुभएदेखि नै अवरुद्ध रहेका छन् । 

राजमार्ग क्षेत्रमा भने पहिरो जाँदा जेसिबी लगाएर पहिरो पन्छाउने भएकोले केहि समयपछि सडक सुचारु हुने गरेको छ । राप्ती राजमार्गको खौला, पितिबाङ, बैरागीठाँटी र मध्यपहाडी राजमार्गको कालेखोला, चाईनाबगर, सहरे लगायतका क्षेत्रमा बढी मात्रामा पहिरो जानेको गरेको छ । त्यसैगरी भेरी करिडोरको चिसापानी, बाँकेज्यूला लगायतका क्षेत्रमा नियमितजसो पहिरोले सडक अवरुद्ध हुने गरेको छ । 

ग्रामिण सडकको अवरोध भने तत्काल हटाउन सकिएको छैन । मुसिकोट नगरपालिकाले भने आफ्नो क्षेत्रमा गएको पहिरो हटाउन मेसिन लगाउने गरेको जनाएको छ ।

ग्रामीण सडकहरु अवरुद्ध हुँदा सर्वसाधारणहरुलाई पालिकाको केन्द्र तथा जिल्ला सदरमुकाम आउजाउ गर्न कठिनाई भएको छ । यसका साथै दैनिक उपभोग्य सामाग्रीहरु ढुवानीमा समेत समस्या हुने गरेको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज