नेभिगेशन
समाज

रुकुम पश्चिमका तीनसहित कर्णालीका ६ सडकमा अवरोध

कर्णाली प्रदेश भित्रका विभिन्न ६ सडकखण्डमा बाढी पहिरोको कारण अवरोध सिर्जना भएको छ । 

कर्णाली प्रदेश प्रहरी कार्यालय सुर्खेतले सार्वजनिक गरेको जानकारी अनुसार रुकुम पश्चिमका तीनसहित छ वटा सडकमा अवरोध पुगेको छ । चार सडकखण्ड पूर्ण रुपमा अवरुद्ध रहेका छन् भने दुई वटामा मेलसिस्टममा सवारी साधन चलेका छन् । 

प्रहरीका अनुसार राप्ती राजमार्ग अन्तर्गत रुकुम पश्चिमको बाँफिकोटस्थित छिनखेतबाट जिल्ला सदरमुकाम खलङगा आउने सडकखण्डमा लेदोसहितको पहिरो आउँदा पूर्ण रुपमा अवरोध भएको छ । यो सडकखण्ड साउन १८ गतेबाट अवरुद्ध छ । 

आठबिसकोट नगरपालिकाबाट मग्मा हुँदै खलङगा आउने सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको छ । लेदोसहितको पहिरो आईराख्ने समस्याका कारण गत असार १५ गतेदेखि नै यो सडकमा सवारी अवरुद्ध रहेको छ ।

त्यसैगरी भेरी करिडोर अन्तर्गत रुकुम पश्चिमकै आठबिसकोट नगरपालिका ६ रिजिगार्ड खोलामा आएको पहिरोको कारण गत असार ९ गतेबाट उक्त सडकमा अवरोध सिर्जना भएको छ । हाल मेलसिस्टममा सवारी चलेको प्रदेश प्रहरी कार्यालयले उल्लेख गरेको छ । 

भेरि करिडोर अन्तगर्त डोल्पाको त्रिपुरा सुन्दरी नगरपालिका १ छलगार्डमा आउने पानीको बहावको कारण उक्त सडक असार ३ गतेबाट अवरोध रहेको छ । हाल यहाँ मेलसिस्टममार्फत सवारी चलेको छ । 

कर्णाली करिडोर अन्तर्गत हुम्लाको नाम्खा गाउँपालिका २ र सिमिकोट गाउँपालिकाको सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको छ । निर्माणाधिन अवस्थाको उक्त सडक साउन ८ गतेदेखि नै बन्द रहेको छ । 

सुुर्खेत जुम्ला सडकखण्ड अन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका १ गगने खोलामा पहिरो आएको कारण उक्त सडक पनि पूर्ण रुपमा अवरुद्ध रहेको प्रहरीले जनाएको छ । यो स्थानमा आज पहिरो आएको थियो । 

Sadak-bibaran-1754663463.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्