नेभिगेशन
समाज

सहिद मार्गको रुकुम पूर्वखण्डमा पहिरो जाँदा सडक अवरुद्ध

लगातारको बर्षाको कारण सहिद मार्ग अन्तर्गत रुकुम पूर्वको काँकि तकसेराखण्डमा पहिरो गएको छ ।  

गएराती पुथा उत्तरगंगा गाउँपालिका १२ दिखिउमा पहिरो गएको पुथा उत्तरगंगा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत ध्रुव बिकले जानकारी दिनुभयो । उहाँका अनुसार पहिरो गएपछि यातायातका साधनहरु रोकिएका छन् । यस स्थानमा पटक पटक पहिरो जाने गरेको छ । 

गत बुधबार साँझ गाउँपालिकाले जेसिबी मेसिन लगाएर पहिरो हटाएको थियो । सोहि स्थानमा पुनः पहिरो गएको हो । 

पहिरो गएको चार दिनसम्म पनि सहिद मार्ग सडक योजना कर्यालय रोल्पाले वेवास्ता गरेपछि गाउँपालिकाले आफ्नै खर्चमा तीन वटा मेसिन लगाएर पहिरो पन्छाएको थियो । 

सोहि स्थानमा पुनः पहिरो गएपछि यातायातका साधनहरु ठप्प भएका छन् । सडक अवरुद्ध भएपछि पुथा उत्तरगंगा गाउँपालिकाको विभिन्न स्थानबाट जिल्ला सदरमुकाम रुकुमकोट, काठमाडौं, रोल्पा लगायतका स्थानतर्फ जाने सर्वसाधारणहरु मर्कामा परेका छन् । 

गाउँपालिकाले पहिरो पन्छाउनको लागि तीन वटा मेसिन तयारी अवस्थामा राखेको जनाएको छ । पहिरो झरिरहेकोले काम सुरु हुन सकेको छैन । पहिरो झर्न रोकिएमा गाउँपालिकाको पहलमा नै पहिरो पन्छाएर सडक सुचारु गर्ने कोशिस रहेको प्रमुख प्रशासकीय अधिकृत बिकले जानकारी दिनुभयो । 

बर्षाको समय रहेको र उक्त स्थान पहिरोको जोखिममै रहेकोले आवश्यक सुरक्षा सतर्कताका साथ यात्रा गर्न गाउँपालिकाले अनुरोध गरेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्