नेभिगेशन
अर्थ/वाणिज्य

यात्रुको चापपछि सल्लेमा उडान थप, भाडादर पनि घट्यो

नेपाल वायु सेवा निगमले रुकुम पश्चिमको सल्ले विमानस्थलमा उडान थप गरेको छ । यस अघि हप्तामा काठमाडौं र नेपालगन्ज एक/एक उडान गर्दै आएकोमा अब दुई उडान हुन थालेको छ । 

नेपाल वायु सेवा निगम रुकुम शाखाका प्रमुख प्रेम ओलीका अनुसार यात्रुको चापपछि उडान थप भएको हो । अब देखि रुकुमपश्चिमबाट हप्तामा दुई दिन नेपालगन्ज र दुई दिन काठमाडौंको लागि उडान तालिका कायम गरिएको छ । प्रमुख ओलीले अब आइतबार र बिहीबार काठमाडौं–रुकुम–नेपालगन्ज र मंगलबार र शुक्रबार नेपालगन्ज–रुकुम–काठमाडौ उडान हुने जानकारी दिनुभयो । 

यसअघि हप्तामा एउटा मात्र उडान हुँदा टिकटका लागि समस्या हुने गरेको थियो । काठमाडौ उडान भएकै दिन अर्को हप्ताको लागि काठमाडौंको टिकट पनि बिक्रि भईसक्ने गरेको थियो । यसका साथै टिकटकै लागि कार्यालयमा यात्रुहरु लाइन लाग्नुपर्ने अवस्था रहेको थियो । अब भने चाप कम हुने निगमले जनाएको छ । 

निगमको केन्द्रिय, क्षेत्रीय र जिल्लास्थित कार्यालयबाट र अनलाईनबाट समेत टिकट लिने सकिने व्यवस्था रहेको कार्यालयले जनाएको छ । प्राविधिक कारण बाहेक अहिले उडान तालिका अनुसार नै जहाज आउने गरेको बताइएको छ । मङगलबार मात्रै यस अघि रद्ध भएका दुई उडान भएका छन् । 

सोमबार देखि भाडादर समेत केहि घटेको निगमका शाखा प्रमुख ओलीले जानकारी दिनुभयो । हाल रुकुमबाट नेपालगञ्जको लागि चार हजार ५०३ रुपियाँ ६० पैसा र काठमाडौंको लागि नौ हजार ९७८ रुपियाँ ४५ पैंसा भाडादार कायम रहेको छ ।

यस अघि रुकुमबाट नेपालगञ्जको लागि चार हजार ५३७ र काठमाडौंको लागि १० हजार ८० रुपियाँ भाडादर रहेको थियो । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ/वाणिज्य