कुखुरा र बंगुर पालनका लागि तालिम

शुक्रबार, जेठ २५, २०८१

रुकुम पश्चिमको चौरजहारीमा कुखुरा र बंगुरपालन सम्बन्धि तालिम सुरु भएको छ ।

चौरजहारी नगरपालिका वडा नम्वर ३ स्थित पूर्ण शान्त शहिद स्मृति भवनमा आज एक कार्यक्रमका बिच १० दिने तालिमको उद्घाटन गरिएको हो ।

सामाजिक विकास कार्यालय रुकुम पश्चिमको आर्थिक सहयोगमा सिर्जनशिल युवा संजाल नेपालको सहजीकरणमा लोप उन्मुख तथा सिमान्तकृत समुदायको सीप विकास तथा क्षमता अभिवृद्धिका उक्त तालिम सुरु गरिएको हो । 

सिर्जनशिल युवा संजाल नेपालका अध्यक्ष रमेश लामिछानेका अनुसार एकसाथ उद्घाटन गरिएको तालिम भने दश दिन सम्म छुट्टाछुट्टै रुपमा सञ्चालन गरिने छ । तालिममा चौरजहारी नगरपालिका भित्रका ११ जना बंगुरपालक र ४९ जना बाख्रापालक किसानहरुको सहभागीता रहेको छ ।   

तालिम पश्चात सहभागीहरुको सिकेको सीपको सदुपयोग गरेर स्वरोजगार बन्न प्रेरित हुने विश्वास लिइएको अध्यक्ष लामिछानेले उल्लेख गर्नुभयो । बेरोजगार तथा लोप उन्मुख र सिमान्तकृत समुदायका व्यक्तिहरुको क्षमता विकास गरेर आर्थिक उपार्जनमा जोड्न तालिम फलदायी हुने विश्वास गरिएको छ । 

संजालका अध्यक्ष  रमेश लामिछानेको अध्यक्षतामा भएको तालिम उद्घाटन समारोहमा जिल्ला समन्वय समिति रुकुम पश्चिमका उपप्रमुख  देवबहादुर बिकको प्रमुख आतिथ्यता रहेको थियो । तालिममा चौरजहारी नगर‌पालिका प्रमुख पुष्प वादी, सामाजिक विकास कार्यालय रुकुम पश्चिम कार्यालय प्रमुख ध्रुव कुमार बाँठा मगर लगायतकाे आतिथ्यता रहेको थियो भने कार्यक्रमको सञ्चालन विशाल गिरीले गर्नुभएको  थियो ।

प्रकाशित मिति: शुक्रबार, जेठ २५, २०८१  २१:५३
प्रतिक्रिया दिनुहोस्