उत्पादन र बजारीकरण

एउटै वडाबाट ३६ लाख बढीको लसुन बिक्रि

रुकुममा उत्पादित लसुन खरिदका लागि दाङ, पोखरा र काठमाडौंका व्यापारी गाउँमा
बुधबार, जेठ १६, २०८१

रुकुम पश्चिमको मुसीकोट नगरपालिका –१० बाट एउटै सिजनमा ३६ लाख बढीको लसुन बिक्रि भएको छ । वडाको झ्याङ, झान्डारी, खर्सुपानी, चौर, गलम्पाटी, नमूनाबस्ती लगायतका टोलबाट ३६ लाख १२ हजार पाँच सय रुपियाँको लसुन बिक्रि भएको हो । 

वडा अध्यक्ष धनबहादुर खड्काका अनुसार यस सिजनमा वडामा उत्पादन भएको ४८९ क्विन्टल लसुन मध्य २८९ क्विन्टल लसुन बिक्रि भएको हो । प्रतिकिलो १२५ रुपियाँका दरले लसुन बिक्रि भएको उहाँले जानकारी दिनुभयो ।

उहाँले एक सय क्विन्टल लसुन काठमाडौं, ८९ क्विन्टल लसुन पोखराका व्यवसायीले खरिद गरेर लिएको बताउनुभयो । एक सय क्विन्टल लसुन भने रोल्पा र दाङका तीन जना व्यापारीले खरिद गरेर राखेका छन् । दुई सय क्विन्टल लसुन भने किसानले नै राखेका छन् । उनिहरुले अर्को सिजनमा बीउको लागि  र घरायसी प्रयोगगका लागि उक्त लसुन घरमै राखेका हुन् । 

यस वडाका करिब डेढ सय जना किसानहरुले व्यवसायिक रुपमा लसुन खेति गर्दै आएका छन् । जसमध्य एउटै किसानले एक सिजनमा एक लाख १३ हजार भन्दा बढीको लसुन बिक्रि गरेका छन् । किसान ईन्द्रकुमार खड्काले नौ क्विन्टल बढी लसुन बिक्रि गरेर एक लाख १३ हजार रुपियाँ प्राप्त गरेको बताउनुभयो । शहरका व्यापारीहरु गाउँमै आएर किसानको उत्पादनलाई उचित मूल्य दिएको उहाँको भनाई छ ।

अर्का किसान खिमबहादुर ओलीले एक लाख तीन हजार मूल्यमा ८२४ किलो लसुन बेचेको जनाउनुभयो । उहाँले पहिला गहुँ खेती गरेको जग्गामा लसुन खेती गर्दा फाईदा भएको बताउनुभयो । सुरुमा बजारको समस्या भएपनि वडा कार्यालयले व्यापारीहरु गाउँमै आउने वातावरण मिलाईदिएकोले गाउँमा लसुन खेती गर्नेहरुको संख्या बढ्दै गएको उहाँको भनाई छ । 

यस वडामा २०७५ सालदेखि व्यवसायिक रुपमा लसुन उत्पादन हुँदै आएको छ । सुरुका वर्षहरुका दाङका व्यापारीहरुले यहाँको लसुन खरिद गरेर लैजाने गर्दथे । यस वर्षदेखि भने पोखरा र काठमाडौं लसुन जान थालेको हो । लसुन खरिदका लागि पाँच जना व्यवसायीहरु आएर किसानहरुसँग मूल्यमा सम्झौता गरेपछि एकसाथ लसुन बिक्रि भएको हो । यसका लागि वडा कार्यालयले नियमित सहजिकरण गरिरहेको छ । काठमाडौं, पोखरा र दाङमा अझै लसुनको माग रहेको वडा अध्यक्ष खड्काले बताउनुभयो । 

यस क्षेत्रमा लसुनका साथै सुन्तला, कागती, अदुवा, अलैची लगायतको राम्रो उत्पादन हुने गर्दछ । मुसीकोट नगरपालिकाले उक्त वडालाई लसुन पकेट समेत घोषणा गरेको छ । लसुन उत्पादनको पहिचान झल्कने गरेर वडाको झ्याङ बस्तीमा लसुन पार्क समेत निर्माण गरिएको छ । वडा अध्यक्ष खड्काले वडामा हुने सबै कृषि उपजहरुको दिगो बजार व्यवस्थापन गर्नतर्फ अग्रसर रहेको जनाउनुभयो ।

वडाले स्थानीय छबि बहुउद्धेश्यीय सहकारी संस्थालाई कृषि उपजको संकलन र बजारीकरणका लागि खगाडि सारेको छ । त्यसैगरी वडाको पहलमा उत्पादन, बजार व्यवस्थापन र किसान तथा सहकारीलाई प्रोत्साहनका कार्यहरु हुँदै आएका छन् । 

प्रकाशित मिति: बुधबार, जेठ १६, २०८१  ०७:१५
प्रतिक्रिया दिनुहोस्