प्रभु बैंकबाट हिनामिना भएको भूकम्पपीडित लगायतको एक करोड ७२ लाख फिर्ता 

५८ लाख फिर्ता गर्न बाँकि रहेको भन्दै नगर प्रमुखद्वारा प्रशासनमा निवेदन
बिहीबार, फागुन १७, २०८०

रुकुम पश्चिमको आठविसकोटमा रहेको प्रभु बैंकका एक कर्मचारीले भूकम्पपीडित र अन्य बचतकर्ताहरुको करोडौ रकम हिनामिना गरेको पाईएपछि फिर्ता गरिएको छ । बैंकको अपरेशन ईन्चार्ज पदमा कार्यरत निरज बिक्रम शाहले रकम अपचलन गरेको पाईएपछि बैंकले एक करोड ७२ लाख ९८ हजार रुपियाँ फिर्ता गरेको छ । 

भूकम्प पीडितको अस्थायी आवास निर्माण गर्नको लागि आठविसकोट नगरपालिकाले लाभग्राहीको खातामा जम्मा गर्न दिएको र अन्य बचतकर्ताको रकम अपचलन गरेर शाह फरार भएपछि बैंकले उक्त रकम तिर्न थालेको हो । हालसम्म प्रभु बैंकले भूकम्पपीडितहरुको एक करोड पाँच लाख र ग्राहकहरुको ६७ लाख ९८ हजार रुपियाँ फिर्ता गरिसकेको छ । अझैपनि अन्य कारोबार छानबिन भईरहेको बताईएको छ । 

आठविसकोट नगरपालिकाका प्रमुख रबि केसीले भूकम्प प्रभावितहरुको अस्थायी आवास निर्माणका लागि पठाईएको एक करोड पाँच लाख रुपियाँ हिनामिना भएपछि बैंक जवाफदेहि भएर फिर्ता गरिसकेको जानकारी दिनुभयो । उहाँका अनुसार विभिन्न मितिमा बैंकमा पठाईएको तीन वटा चेकको रकम लाभग्राहीको खातामा नहालेर कर्मचारीले गैह्रकानूनी तवरले दुरुपयोग गरेको पाईएको हो । 

त्यसैगरी बैंकले अन्य १४ जना बचतकर्ताको रकम समेत फिर्ता गरेको छ । बचतकर्ताको ६७ लाख ९८ रुपियाँ ग्राहककै खातामा फिर्ता गरिएको बैंकले जनाएको छ । नगर प्रमुख केसीले अझै आठ जना सर्वसाधारणको ५८ लाख आठ हजार रुपियाँ बैंकले फिर्ता गर्न बाँकि रहेको उल्लेख गर्नुभयो ।

नगर प्रमुख केसीलाई पीडितहरुले दिएको निवेदनमा आठ जनाको ५८ लाख आठ हजार रुपियाँ फिर्ता गर्नुपर्ने देखिन्छ । पारस सुनारको ३० लाख असी हजार, बिमला दमाईको एक लाख १५ हजार, सुनिता शाहीको चार लाख ९३ हजार, बिमला नेपालीको दुई लाख २० हजार, मनकला पुनको सात लाख, लक्ष्मण कुमार शाहीको तीन लाख, तिलक बहादुर मल्लको सात लाख र नरबहादुर कामीको दुई लाख रुपियाँ हिनामिना भएको उल्लेख छ । 

नगर प्रमुख रबि केसीले बिहिबार प्रमुख जिल्ला अधिकारी हरि प्रसाद पन्त र प्रहरी नायब उपरिक्षक नमराज भट्टराईलाई छुट्टाछुट्टै निवेदन दिएर उक्त घटनाको शीघ्र छानबिनको लागि निवेदन पेश गर्नुभएको छ । निवेदन उहाँले बैंकका आधिकारिक प्रतिनिधिलाई बोलाएर आवश्यक अनुसन्धान, छलफल गराई खातावालाको रोक्का खाता फुकुवा गरी बैंक तथा तत्कालिन कर्मचारीहरुबाट हिनामिना भई खातामा जम्मा नभएको रकम फिर्ता गर्न माग गर्नुभएको छ । स्थानीय स्तरमा भएको सहमति बैंकले वेवास्ता गरेपछि प्रशासन समक्ष छानबिनको माग गरिएको हो । 

रकम हिनामिना भएको गुनासोपछि बैंकका कर्णाली प्रादेशिक कार्यालय प्रमुख शरदराज तिमिल्सिना नेतृत्वको टोलीले आन्तरिक छानबिन गरेको थियो । प्रारम्भिक छानबिन गरेर बैंकले कर्मचारी शाह बिरुद्ध बैङ्किङ कसुर शिर्षकमा जिल्ला प्रहरी कार्यालयमा मुद्धा समेत दर्ता गरेको छ । ईन्चार्ज शाहले बैंकका खातावालाहरुको रकम अनाधिकृत रुपमा निकाल्ने, अन्य खातामा स्थान्तरण गर्ने गरेको आरोपसहितको मुद्धा दर्ता भएको हो । प्रहरीले छानबिन सुरु गरेको जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन १७, २०८०  १६:१६
प्रतिक्रिया दिनुहोस्