जनयुद्ध दिवसमा रुकुम पूर्व र पश्चिमका आठ वटा स्थानीय तहमा सार्वजनिक बिदा

सोमबार, माघ २९, २०८०

जनयुद्ध दिवसको अवसरमा फागुन १ गते रुकुम पश्चिमका पाँच  र रुकुम पूर्वका तीन वटै स्थानीय तहले सार्वजनिक बिदा दिने निर्णय गरेका छन् । 

रुकुम पश्चिमका आठविसकोट नगरपालिका, चौरजहारी नगरपालिका, सानीभेरी गाउँपालिका, त्रिवेणी गाउँपालिका र बाँफिकोट गाउँपालिकाले सार्वजनिक बिदा दिने निर्णय सार्वजकि गरेका हुन् । मुसिकोट नगरपालिकाले भने बिदा दिने निर्णय हालसम्म गरेको छैन । 

त्यसैगरी रुकुम पूर्वका तीन वटै गाउँपालिकाले पनि जनयुद्ध दिवसको अवसरमा बिदा दिने निर्णय गरेका छन् । सिस्ने, भूमे र पुथा उत्तरगंगा गाउँपालिकाले फागुन १ गते सार्वजनिक बिदा दिएका हुन् । सार्वजनिक बिदाका दिन पालिका भित्रका वडा कार्यालय, शैक्षिक सस्था लगायका कार्यालयहरुमा बिदा हुने जनाईएको छ ।  

जनयुद्ध दिवसको अवसरमा रुकुम पश्चिमको सानीभेरीमा गुरिल्ला म्याराथन आयोजना गरिएको छ । त्यसैगरी बाँफिकोट गाउँपालिका -२ स्थित सहिद पार्कमा मेलाको आयोजना गरिएको छ । चौरजहारी नगरपालिकामा फूटबल प्रतियोगिताको आयोजना गरिएको बताईएको छ । 

संघीय सरकारले फागुन १ गतेलाई ‘जनयुद्ध’ दिवसका रूपमा मनाउने र उक्त दिन देशभर सार्वजनिक बिदा दिने निर्णय गरेतापनि सर्वोच्च अदालतले उक्त निर्णयलाई भने खारेज गरिदिएको छ।

प्रकाशित मिति: सोमबार, माघ २९, २०८०  १७:३२
प्रतिक्रिया दिनुहोस्