रुकुमको एउटै गाउँबाट साढे ३६ लाखको मकै बीउ बिक्रि

बुधबार, कात्तिक १५, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिमको एक गाउँबाट साढे ३६ लाख रुपियाँको मकैको बीउ बिक्रि भएको छ । जिल्लाको चौरजहारी नगरपालिका वडा नम्वर ३ स्थित स्यालखोला गाउँबाट मात्रै बर्षे बाली अन्तर्गत लगाएको मकैको उन्नत बीउ बिक्रि भएको हो । 

स्यालखोला गाउँमा उत्पादन भएको रामपुर कम्पोजिट र अरुण २ जातको नौ सय क्विन्टल मकैको बीउ बिक्रि भएको हो । मकैको उन्नत बीउ बिक्रि वापत गाउँमा ३६ लाख ५० हजार रुपियाँ भित्रिएको छ ।

स्थानीय अगुवा किसान तेजबहादुर बटालाका अनुसार आठ सय क्विन्टल रामपुर कम्पोजिट र एक सय क्विन्टल अरुण २ जातको मकै काठमाडौको सि एन सिड कम्पनीलाई बिक्रि गरिएको हो । अरुण २ प्रतिकिलो ४५ र रामपुर कम्पोजिट प्रतिकिलो ४० रुपियाँको दरले बिक्रि भएको हो । 

यसबाट गाउँका किसानहरुलाई राम्रो आम्दानी भएको छ । बटालाका अनुसार टोलका १४० घरधुरी किसानले मकैको बीउ बिक्रि गरेका हुन् । गाउँमा सबैभन्दा बढी २५ क्विन्टल मकै उहाँकै बिक्रि भएको छ । यसबाट बटालाले मात्र एक लाख रुपियाँ पाउँनुभएको छ । 

स्यालखोला गाउँका अर्का किसान बसन्त भण्डरीले आफूले उत्पादन गरेको मकै समयमै बिक्रि भएकोमा खुशि व्यक्त गर्नुभयो । उहाँको घरबाट मात्र १० क्विन्टल मकै बिक्रि भएको छ । गाउँमा उन्नत बीउ बाहेक खायनका रुपमा प्रयोग हुने मकै समेत राम्रो उत्पादन हुने भण्डारीले बताउनुभयो । 

बीउ कम्पनीसँग भएको खरिद बिक्रि सम्झौता अनुसार बीउ बिक्रि भएको हो । यसका लागि स्थानीय व्यवसायी बिरबहादुर ओलीले किसान र बीउ कम्पनी बिचमा समन्वय गरिदिनुभएको थियो । मकैको बीउको उमारशक्ति परिक्षण पश्चात ग्रेडिङ्ग र लेवलिङ्ग उल्लेख गरेर बिक्रि गरिएको हो । 

सोहि टोलबाट गत वर्ष मात्रै एक हजार एक सय क्विन्टल मकैको उन्नत बीउ बिक्रि गरिएको थियो । यस वर्ष मकै भित्र्याउने बेलामा आएको असिनापनी र हावाहुरीको कारण मकैमा ठेला क्षती भएको थियो । उक्त क्षतीले गर्दा उत्पादनमा कमी आएको किसानको भनाई छ । 

प्रकाशित मिति: बुधबार, कात्तिक १५, २०८०  १२:२०
प्रतिक्रिया दिनुहोस्