चट्याङले क्षती : होलमा ९० हजार मूल्यको भैंसीको मृत्यु, तिमिलेको लिफ्ट खानेपानीमा क्षती

बिहीबार, भदौ २८, २०८०

रुकुम पश्चिम । बुधबार राती परेको चट्याङको जिल्लाको बिभिन्न स्थानहरुमा क्षती भएको छ ।

जिल्लाको मुसिकोट नगरपालिका ९ होल गाउँमा एक भैसी मरेको छ भने चौरजहारी नगरपालिका १४ को तिमिले गाउँकाे खानेपानी योजनामा क्षती भएको छ । 

मूलपाटीलाई प्राप्त जानकारी अनुसार चट्याङ लागेर मुसिकोट नगरपालिका वडा नम्बर ९ होलका रुपलाल कठायतको एउटा गाभिनी भैँसी मरेको छ । उहाँको ९० हजार मूल्य बराबरको ब्याउने भैसी मरेको हो ।

यसका साथै चट्याङले कठायतको घरमा पनि क्षती पुगेको छ । उहाँको घरको भित्तामा प्वाल पार्नुका साथै बिजुलीका तार नष्ट गरेको मुसिकोट नगरपालिका वडा नम्वर ९ का पूर्व वडा अध्यक्ष नविन ओलीले जानकारी दिनुभयो । पीडित परिवारले क्षतिपूर्तिका लागि स्थानीय सरकारसँग अनुरोध गरेका छन् । 

त्यसैगरी चट्याङको कारण चौरजहारी नगरपालिका १४ को तिमीले आउने विद्युतको बिच भाग छेर्नी नजिक तार जलेको छ भने तिमीले चिन्तु लिप्ट खानेपानीको मोटर र सौर्य पातामा ठुलो क्षति भएको  छ। चौकिदार दिपक ओलीका अनुसार आयोजना अन्तर्गत दुई सिफ्टमा १४८ वटा सोलार राखिएको थियो ।

एक सिफ्टमा रहेको ३५० वाटका १६ वटा सौर्यपातामा पूर्ण रुपमा क्षती भएको छ । २० हर्ज र २५ हर्जका दुई वटा मोटरमा समेत समस्या रहेको चौकीदार ओलीको भनाइ छ । 

चट्याङले सौर्य र मोटरमा क्षति गरेपछि अब झण्डै  १५० घरधुरी रहेको चौरजहारी नगरपालिकाको वडा नम्वर १३, १४ र सानीभेरी गाउँपालिका १० का अग्लो बस्तीका मानिसलाई खानेपानीको समस्या परेको छ । क्षतिको एकिन विवरण भने अझै आउन सकेको छैन । 

प्रकाशित मिति: बिहीबार, भदौ २८, २०८०  १८:४३
प्रतिक्रिया दिनुहोस्