आठ वर्षपछि रुकुम उद्योग वाणिज्य संघ नविकरण

बुधबार, असार २७, २०८०

रुकुम पश्चिम । रुकुम पश्चिममा रहेको रुकुम उद्योग वाणिज्य संघ आठ वर्षपछि नविकरण भएको छ ।

आर्थिक वर्ष ०७२/७३ यता नियमानुसार नविकरण नभएको संघ जिल्ला प्रशासन कार्यालय रुकुम पश्चिममा २०८१ असार मसान्त सम्मको लागि नविकरण भएको हो । 

संघका महासचिव बुढाका अनुसार विगतको कार्यसमितिमा भएको विवाद, कोरोना महामारी लगायतका कारणले संघ नविकरण हुन सकेको थिएन । लामो समयसम्म लेखा परिक्षण हुन नसकेको, पदाधिकारी चयन हुन नसकेपछि नविकरण समेत हुन सकेको थिएन ।  

गत जेठ ८ गते भएको १४ औं साधारण सभा तथा १२ औं अधिवेशनले नयाँ नेतृत्व चयन गरेको थियो । नयाँ कार्यसमिति चयन पश्चात सस्थाको बैधानिकताको लागि सबै प्रक्रिया पुरा गरेर नविकरण गरिएको महासचिव बुढाले उल्लेख गर्नुभयो । 

व्यापारीहरुको छाता संगठन वर्षौंसम्म अवैधानिक हुँदा विभिन्न खालका टिका टिप्पणीहरु हुँदै आएका थिए । अब संघलाई थप क्रियाशिल बनाएर व्यापारीहरुको हक र हितमा कार्य गरिने बताईएको छ । 

रुकुम उद्योग वाणिज्य संघ सस्था दर्ता ऐन, २०३४ अनुसार २०५२ साल फागनु २२ गते जिल्ला प्रशासन कार्यलय रुकुममा दर्ता भएको थियो । 
 

प्रकाशित मिति: बुधबार, असार २७, २०८०  १३:२६
प्रतिक्रिया दिनुहोस्