आउनुहोस्, हामी सबै मनसँग प्रेम गरौँ !

  • सिर्जना शर्मा

एउटा पोथीले आफ्ना चल्लाहरूलाई गरेको प्रेम देखेकी छु । गोठमा गाईले बाच्छालाई गरेको प्रेम देखेकी छु । भुर्र उड्दै, चारो टिप्दै आफ्ना जहान बच्चालाई चारो खुवाउदै उड्न सिकाउदै गरेका चराचुरुङ्गीहरू देखेकी छु । बिहानै आँगनको डिलमा आमाले चामल निफन्दै गर्दा झरेका कनिकाहरू भालेले पोथीलाई प्रेम पुर्वक खुवाईरहेको देखेकी छु । बोट बिरुवाहरू पनि एक अर्कालाई प्रेमले हेरिरहेका हुन्छन् अस्तित्व स्वीकार गरिरहेका हुन्छन् ।

मैले काम गर्ने अफिसमा एउटा बिरालो छ । म जान बित्तिकै मेरो छेउमा आउँछ म्याउ गर्छ, काखमा बस्छ । सायद ऊ मलाई प्रेम गर्दो हो । छिमेकीको कुकुर छ, मेरो छेउमा घुमिरहन्छ । म सँग खेल्छ । सायद ऊ मलाई प्रेम गर्दो हो । मलाई पनि उत्तिकै प्रेम छ तिनीहरूमा ।

हिजो कोठा फर्किदै थिएँ । टेम्पो भरिएको थियो । एकजना महिला आइन्, बच्चा बोकेर । मैले आफू बसिको सिट छोडिदिएँ र ढोकामा उभिएँ । उनले मायालु नजरले मलाई हेरिन । मैले पनि उस्तै माया उनलाई दिएँ ।

विदेश गएको साथी फर्कदा मलाई उपहार बोकेर आयो । उसलाई मेरो माया लाग्यो, मैले उसलाई माया गरेँ ।

आमाले बालाई, बाले आमालाई । दाजुले भाउजुलाई, भाउजुले दाजुलाई । आमाले मलाई, मैले आमालाई, केटाले केटीलाई केटालाई केटीले, गुरुले शिष्यलाई शिष्यले गुरुलाई, सबै सबैले सबै सबैलाई प्रेम गरि रहेका छौँ ।

हामी सबै प्रेमले, प्रेमका निम्ति जन्मेका हौँ । हामीले जति अरुलाई प्रेम बाडिरहेका छौँ त्यति प्रेम प्राप्त गरिरहेका छौँ । भनिन्छ, खराब सुधार्ने औषधि पनि प्रेम नै हो । एउटा प्रचलित अंग्रेजी उक्तिमा भनिएको छ ‘जीवनमा सफलता पाउने एउटा सिध्दान्त छ, त्यो हो प्रेम गर्न सिक्नु ।’

प्रेम हरकोहीसँग हुन सक्छ । न उमेर तगारो बन्छ, न जातभात तगारो बन्छ । भनिएको पनि सुनिन्छ, यदाकदा देखिएको पनि छ ।

प्रेम दिउँ, प्रेम लिउँ । सुन्दरतासँग गरिने प्रेम उमेरले मेटाइ रहेको हुन्छ, धनसँग गरिने प्रेम समयले सकाइ रहेको हुन्छ । तर मनसँग गरिने प्रेम सधैँभरि रहिरहन्छ, त्यसकारण आउनुहोस् हामी सबै मनसँग प्रेम गरौँ ।

आजका दिनसम्म जसले, जसरी, जहाँबाट, जे का लागि मलाई सम्झेर प्रेम गरिरहनु भएको छ सबैलाई मेरो पनि उत्तिकै प्रेम छ ।

म प्रेमको पुजा गरूँ बनूँ म प्रेमी सर्वदा
सुवास नित्य मै छरूँ बनूँ म प्रेमी सर्वदा ।
जितिन्छ प्रेमले अनेक युध्द वा लडाइँ नै
म पोखिदैं घडा भरूँ बनूँ म प्रेमी सर्वदा ।।

प्रकाशित मिति: शुक्रबार, फागुन ६, २०७८  १३:०२
प्रतिक्रिया दिनुहोस्