नेभिगेशन
खेल

चौरजहारीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत बडीबिल्डिङ प्रतियोगिता सुरु

रुकुम पश्चिमको चौरजहारीमा दशौँ राष्ट्रिय खेलकुद प्रतियोगिता–२०८३ अन्तर्गत बडीबिल्डिङ प्रतियोगिता आजदेखि सुरु भएको छ। राष्ट्रिय खेलकुद परिषद्, त्रिपुरेश्वरको आयोजना तथा कर्णाली प्रदेश खेलकुद परिषद्को सहआयोजनामा चौरजहारी नगरपालिका–२ स्थित कभर्ड हलमा प्रतियोगिता सञ्चालन गरिएको हो।

प्रतियोगितामा १० जिल्लाका ८ समूह र ३ विभागीय टोली गरी कुल १० समूहका १०४ जना महिला तथा पुरुष खेलाडीको सहभागिता रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको उद्घाटन कर्णाली प्रदेश सरकारका भौतिक पूर्वाधार तथा यातायात विकासमन्त्री मिलन खड्का (रोका) ले गमलामा पानी हालेर गर्नुभएको थियो।

उद्घाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री खड्काले कर्णाली प्रदेशमा राष्ट्रिय स्तरको खेलकुद प्रतियोगिता सञ्चालन हुनु यस प्रदेशको खेलकुद विकासका लागि महत्वपूर्ण उपलब्धि भएको बताउनुभयो। उहाँले यस्ता प्रतियोगिताले कर्णालीको खेलकुद क्षेत्रलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा पहिचान दिलाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गर्नुभयो।

भौगोलिक रूपमा नेपालको सबैभन्दा ठूलो प्रदेश कर्णालीको चौरजहारीमा राष्ट्रिय स्तरको बडीबिल्डिङ प्रतियोगिता आयोजना हुनुले यस खेलको महत्व र सम्भावनालाई थप उजागर गरेको उहाँको भनाइ थियो। मन्त्री खड्काले प्रतियोगितामा सहभागी हुन विभिन्न प्रदेशबाट आएका खेलाडी, प्रशिक्षक तथा टोलीलाई शुभकामना व्यक्त गर्दै खेलकुदलाई राष्ट्रको पहिचान, प्रतिष्ठा र अन्तर्राष्ट्रिय सम्बन्ध विस्तार गर्ने महत्वपूर्ण माध्यमका रूपमा लिनुपर्नेमा जोड दिनुभयो।

खेलकुद क्षेत्रको विकासका लागि आवश्यक भौतिक पूर्वाधार निर्माण अपरिहार्य रहेको उल्लेख गर्दै उहाँले आफ्नो मन्त्रालय खेलकुदमैत्री पूर्वाधार विकास तथा यातायात पहुँच विस्तारका लागि क्रियाशील रहेको बताउनुभयो। राष्ट्रिय स्तरको प्रतियोगिता चौरजहारीमा सञ्चालन हुनुले स्थानीय क्षेत्रको खेलकुद गतिविधि प्रवर्द्धन हुनुका साथै चौरजहारी र समग्र रुकुम पश्चिमको राष्ट्रिय पहिचान स्थापित गर्नसमेत सहयोग पुग्ने अपेक्षा गरिएको छ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेल