नेभिगेशन
घटना/दुर्घटना

रुकुममा थुनुवा कैदी बोकेको भ्यान दुर्घटना, एक जनाको मृत्यु, एक घाईते

रुकुम पश्चिममा थुनुवा कैदी बोकेको गाडी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते हुनुभएको छ । 

आज (बिहिबार) बेलुका पौने ६ बजे रुकुम पश्चिमको मुसिकोट नगरपालिका -८ ताउनेस्थित मध्यपहाडी राजमार्गमा जिल्ला कारागार कार्यालय रुकुम पश्चिमको बा.प्र. ०३००१ च ३९५६ नम्वरको भ्यान दुर्घटना भएको हो । 

जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डिएसपी) बेदबहादुर पौडेलका अनुसार रुकुम पूर्वबाट फर्कदै गरेको भ्यान विपरित दिशाबाट आईरहेको क.प्र.०३००१ प ०७६८ नम्बरको पल्सर बाईकसँग ठोकिएर दुर्घटना भएको हो । 

दुर्घटनामा परेर मोटरसाईकलमा एक रहेका जनाको मृत्यु भएको छ भने एक जना गम्भिर घाईते भएको प्रहरीले जनाएको छ । डिएसपी पौडेलले मूलपाटीलाई दिनुभएको जानकारी अनुसार मृत्यु हुनेमा आठबिसकोट नगरपालिका -७ का २१ वर्षिय निवास बोहरा रहेका छन् ।

त्यसैगरी आठबिसकोट नगरपालिका -१० का १८ वर्षीय गणेश शाही गम्भिर घाईते हुनुभएको छ । उहाँलाई उपचारको लागि जिल्ला अस्पताल सल्ले ल्याईएकोमा थप उपचारका लागि सुविधा सम्पन्न अस्पतालमा लैजान रिफर गरिएको छ । 

जिल्ला कारागार कार्यालय रुकुम पश्चिमबाट थुनुवा बन्दीलाई साक्षी बयानका लागि रुकुम पूर्वमा रहेको रुकुमकोट जिल्ला अदालतमा उपस्थित गराई रुकुम पश्चिमतर्फ फर्कने क्रममा उक्त दुर्घटना भएको प्रहरीले जनाएको छ । 

दुर्घटनापश्चात अस्थायी प्रहरी पोष्ट साँखबाट प्रहरी सहायक निरीक्षक देवेन्द्र कुमार थापाको नेतृत्वको टोली घटनास्थल पुगेको थियो भने जिल्ला प्रहरी कार्यालयबाट प्रहरी निरीक्षक झविन्द्र परियारको नेतृत्वमा ट्राफिकसहितको टोली अनुसन्धानको लागि घटनास्थल पुगेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना