नेभिगेशन
घटना/दुर्घटना

जलजलामा जिप दुर्घटना हुँदा मृत्यु भएका २० जनाको पहिचान खुल्यो

बिहिबार रुकुम पूर्वबाट रोल्पाको जलजलातर्फ जाने क्रममा भएको जिप दुर्घटनामा परी ज्यान गुमाउने २० जनाको पहिचान भएको छ । दुर्घटनामा घाइते भएका १ जना भने उपचारपछि घर फर्किएका छन् । 

यात्रुहरू सबै रुकुम पूर्वको रुकुमकोटबाट गए पनि केही रुकुम पूर्वका र केही दाङ जिल्लाका भएको रोल्पा प्रहरीले जानकारी दिएको छ । जिल्ला प्रहरी कार्यालय रोल्पाका सूचना अधिकारी प्रहरी निरीक्षक सुनिल थापा नेपालीका अनुसार मृत्यु हुनेहरूमा रुकुम पूर्व सिस्ने गाउँपालिका–५ टाकुराका ३२ वर्षीय गोर्ख विक, ५३ वर्षीया तिलकुमारी बुढाथोकी, २८ वर्षीय युवा बिसी, १० वर्षीय दिव्यन बिसी, २४ वर्षीया सृजना बुढाथोकी, १३ वर्षीया सुदीप बुढाथोकी र  ४० वर्षीया ओमकुमारी बुढाथोकी रहेका छन् ।

त्यसैगरी दाङको घोराही उपमहानगरपालिका–१५ रतनपुर बस्ने ५४ वर्षीया दोरपती जिसी, ३२ वर्षीया तिला जिसी, ७ वर्षीया जेनिस जिसी, १२ वर्षीया जेनिसा जिसी, २५ वर्षीया एलिना जीसी, ७ वर्षका संयोग जिसी तथा उमेर नखुलेका यमबहादुर जिसी र घोराही–१३ बस्ने धनमाया बिष्ट रहेका छन्। 

यसैगरी दाङकै शान्तिनगर गाउँपालिका घर भई हाल सिस्ने गाउँपालिका ५ मा वस्ने सवारी चालक ४२ वर्षीय बेदु कामी, सिस्ने–५ की ६० वर्षीया मीना कमिनी र ६० वर्षीया लक्ष्मी शाह,रुकुम पूर्वको भुमे गाउँपालिका–५ का टेक प्रसाद बस्नेत र सिस्ने–५ कै २७ वर्षीया रुक्मिना बस्नेत रहेका छन् । 

घटनास्थल अप्ठेरो भीरमा भएकाले शव संकलन कार्यमा ढिला भएको प्रहरीले जनाएको छ । 

जलजलामा पुजा गर्न गएका रुकुमकोटका अन्य यात्रुसँग रुकुम पूर्व प्रहरीले गरेको सूचना संकलन र घटनास्थलमा खटिएका सुरक्षाकर्मीसँगको सूचनालाई भेरिफाई गरेर मृतकको पहिचान गरिएको प्रहरी निरीक्षक नेपालीले जानकारी दिनुभयो ।

जिपको छतमा सिस्ने गाउँपालिका– ५, टाकुराका ३२ वर्षीय समीर कामी भने हाम फालेर जोगिनुभएको छ । थवाङस्थित पालिका अस्पतालमा उपचारपछि जिल्ला अस्पताल रुकुम पूर्व ल्याईएका उहाँलाई थप उपचारका लागि सुविधासम्पन्न अस्पताल लिईएको छ । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप घटना/दुर्घटना