कविता : नाङ्गो आँखा विवश छ !

२०८० वैशाख १६
  •  दिपक शर्मा

यी आँखासँग आशंका छ, मलाई
जीन्दगीको हरेक मोडहरुमा
आँखाले केही कुराहरु देख्न सक्दैन
देखेर पनि चिन्न सक्दैन
चिनेर पनि बुझ्न सक्दैन
बुझेर पनि देखाउन सक्दैन
नाङ्गो आँखाले हेरिरहँदा पनि
अर्कै देख्छ, अर्कै बुझ्छ, अर्कै सम्झिन्छ
किनकी, आँखा विवश छ ।

उसको समाजले त्यहीं सिकाएको छ
चाहेर पनि नजरलाई भित्री आँखासम्म पुर्याउन सक्दैन
उसले बुझेको छ, कुन नजर प्रयोग गर्ने भनेर
तर, उसले नजर परिवर्तन गर्न सक्दैन
उ रुन्छ, कराउँछ, चिच्याउँछ
तर, गर्न केही सक्दैन
किनकी उसलाई आफ्नै आमाको पच्छौरीले बाँधिएको छ
आफ्नै बुवाको जनहीले बाँधिएको छ ।
किनकी, उ विवश छ ।

बिन्ती छ बाबा !
फुकाइदिनुस् हजुरको जनै
अनि मात्र हजुरको टोपी फेरिदिन सक्छ
देखिरहेको छ उसले, आमाको आँखामा वर्षा
देखिरहेको छ उसले, बाको शिरबाट तपतप चुहेको पसिना
बरु, उ आफै रुझिरहेको छ
कसैलाई ओत लगाउन सकेको छैन
उ मुक्ति चाहन्छ, तर सकिरहेको छैन
किनकी, उसलाई आफ्नै डोरीले बाँधिएको छ
डोरी चुदाउँदा उसैलाई दुख्छ
र त, फुकाउन खोज्दा पनि रोइराखेको छ
किनकी, उ विवश छ ।

उसले देखिरहेको छ
खाली भाँडो बोकेको मान्छे
सोचिरहेको छ, उ माग्नको लागि हिँडिरहेको छ
तर बुझेको छैन कि, उ बाँडेर फर्किएको हो
त्यसैले त उ भागिरहेको छ, रोइरहेको छ
उसलाई खाली भाँडोले माग्छ भनेर सिकाइएको छ
उसलाई सिकाउँदा नि रोइरहेको छ
किनकी, उसलाई आफ्नै आमाको पच्छौरीले बाँधिएको छ
उसलाई फुकाउँदा नि रोइरहेको छ
किनकी उसलाई आफ्नै बाबाको जनैले बाँधिएको छ
उसले जनही चुडाउँन नि चाहदैन
किनकी, उ विवश छ ।

प्रकाशित मिति: शनिबार, वैशाख १६, २०८०  १६:०४
प्रतिक्रिया दिनुहोस्