नेभिगेशन
राष्ट्रिय

रुकुम पश्चिममा ५ हजार ३४१ मत बदर

एक भन्दा बढी चुनाव चिन्हमा मत 

फागुन २१ गते भएको प्रतिनिधि सभा निर्वाचनमा रुकुम पश्चिममा पाँच हजार बढी मत बदर भएका छन् । 

प्रत्यक्ष र समानुपातिकतर्फ गरेर पाँच हजार ३४१ मत बदर भएको जिल्ला निर्वाचन कार्यालय रुकुम पश्चिमले जनाएको छ । 

जिल्ला निर्वाचन अधिकारी मोहनलाल केसीका अनुसार पहिलो हुने निर्वाचन प्रणाली (प्रत्यक्ष) तर्फ तीन हजार १६ मत बदर भएका छन् । जम्मा खसेको ६२ हजार ५३९ मत मध्य ५९ हजार ५२३ मत मात्र सदर भएको केसीले जानकारी दिनुभयो । 

त्यसैगरी समानुपातिक निर्वाचन प्रणाली बमोजिम भएको निर्वाचनको मतपरिणाम अनुसार दुई हजार ३२५ मत बदर भएका छन् । समानुपातिकतर्फ जम्मा ६३ हजार १५२ मत खसेकोमा ६० हजार ८२७ मत मात्र सदर भएको निर्वाचन कार्यालयले जनाएको छ । 

एक भन्दा बढी चुनाव चिन्हमा मत 

निर्वाचन अधिकारी केसीका अनुसार अधिकांस मत एक भन्दा बढी चुनाव चिन्हमा मत संकेत गरेका कारण बदर भएका छन् । स्पष्ट रुपमा मत संकेत गरेका तर एक भन्दा बढी चिन्हमा छाप लगाएको कारण ती मतहरु बदर भएका हुन् । उम्मेदवार मन नपरेको कारण धेरै चुनाव चिन्हमा मत संकेत गरेको हुनसक्ने केसीको भनाइ छ । 

त्यसैगरी संकेत गरिएको कोठा भन्दा बाहिर छाप लगाईएको, स्वष्तिक छाप नबुझिने गरी लगाएको, स्वष्तिक छाप लगाउनुपर्नेमा हातका औलाको छाप लगाएका केहि मतहरु पनि रहेको निर्वाचन अधिकारी केसीले जानकारी दिनुभयो । 

निर्वाचन कार्यालय र विभिन्न राजनीतिक दल तथा उम्मेदवारका प्रतिनिधिहरुले मतदाताहरुलाई सहि मतदान तरिकाबारे सिकाएतापनि जिल्लामा बढी मत बदर भएका छन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राष्ट्रिय