गोरखापत्रको उत्कृष्ट समाचारदाताको रुपमा राजु लामिछाने सम्मानित

सोमबार, वैशाख २४, २०८१

काठमाडौं । गोरखापत्र दैनिकका रुकुम पश्चिम (मुसीकोट) समाचारदाता राजु लामिछाने उत्कृष्ट समाचारदाताको रुपमा पुरस्कृत तथा सम्मानित हुनुभएको छ । 

गोरखापत्र प्रकाशनको १२४ औं वर्ष प्रवेश तथा संस्थानको ६२ औं वार्षिकोत्सवको अवसरमा उहाँलाई पुरस्कारसहित सम्मान गरिएको हो ।

राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग काठमाडौंमा सम्पन्न विशेष समारोहमा उहाँलाई नगद पुरस्कारसहित सम्मान गरिएको हो । सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा उहाँलाई सम्मान पत्र, नगद र दोसल्ला सहित सम्मान तथा पुरस्कार प्रदान गरिएको हो । 

रुकुम पश्चिमको चौरजहारी नगरपालिका –१ निवासी लामिछाने विगत दुई दशक देखि पत्रकारितामा सक्रिय हुनुहुन्छ । वार्षिकोत्सवको अवसरमा उहाँसँगै गोरखापत्र सस्थानमा कार्यरत अन्य कर्मचारीहरु र पत्रकारहरुलाई सम्मान गरिएको थियो । 

लामिछानेलाई यस अघि नेपाल पत्रकार महासंघ कर्णाली प्रदेश समितिले पनि पत्रकारिता क्षेत्रमा पुर्याएको योगदानको कदर गर्दै सम्मान गरेको थियो । 

प्रकाशित मिति: सोमबार, वैशाख २४, २०८१  १५:१९
प्रतिक्रिया दिनुहोस्