कविता : म त्यो नारी !

सोमबार, चैत २६, २०८०

कविता : म त्यो नारी

म त्यो नारी !
जबसम्म कसैको नजरमा अपरिचित हुन्छु 
अनि पहिलो भेट् र बढ्दो दुरिमा उचित हुन्छ ।

तबसम्म कसैको लागी आकासको जुन बन्छु
अनि भर्खरै फुल्दै गरेको सुवनशिली फूल बन्छु

अनि फेरि त्यही नारी ...
जबसम्म प्रेमको नाममा आफ्नो अस्तित्व मेटाउँदिन
प्रमाणित गर्न आफ्नो कुरा बलियो आधार देखाउदिन ।

तबसम्म  घमण्डी, दया, माया नभएकी निर्दयी बन्छु
हरेक घटना परिघटनाको मुख्य कारक नै म बन्छु ।

फेरि त्यही नारी ...
निभाउँदै भुमिका हर सम्बन्धको बेग्लाबेग्लै अर्थ सजाउन 
प्रेमीलाई खुसी बनाउन र बिग्रदै गरेको सम्बन्ध बचाउन ।

आफ्नो पवित्रता भंग गरि उसको चाहाना पुरा गर्छु
हरेक ब्यक्ति र समाजको नजरमा फेरि म नै तल पर्छु 
 
म त्यो नारी ...
जब खाली सिउँदोमा कसैको सिन्दुर भरिन्छ
आहा क्या सुन्दर, मेरै सुन्दरताको तारिफ गरिन्छ ।

जब बेहुली भै भित्रिन्छु, केही दिन त्यो घरको लक्ष्मी बन्छु
जसको नामको पोते सिंदुर हुन्छ, उसकै प्यारी रानी बन्छु ।

अनि फेरि त्यही नारी ...
लुटिन्छ सबै रंगिन जती मेरो भागमा सफेद रहन्छ
जब मृत्युले मलाई भन्दा अघि मेरो पतिलाई  छुन्छ ।

तब त्यही घरकी देवी म सबैको नजरमा बोक्सी बनिदिन्छु
भनत कुन नाम दिउ म, मैले आज आफ्नो परिचय दिन्छु ?

- श्री देवकाेटा

प्रकाशित मिति: सोमबार, चैत २६, २०८०  ०८:४६
प्रतिक्रिया दिनुहोस्