सानीभेरीका १६ विद्यालय मर्ज, तह र कक्षा घटुवामा 

आइतबार, वैशाख २, २०८१
  • खिमबहादुर ओली

रुकुम पश्चिमको सानीभेरी गाउँपालिकाले १६ विद्यालयलाई समायोजन, मर्ज, तह घटुवा, कक्षा घटुवा तथा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको छ ।

गत शुक्रबार बसेको गाउँ कार्यपालिकाको बैठकले गाउँपालिकाका १६ वटा विद्यालयलाई समायोजन, मर्ज, तह घटुवा, कक्षा घटुवा तथा विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरेको हो । यो  निर्णय यसै शैक्षिक सत्रदेखि लागु हुने गाउँपालिकाले जनाएको छ । 

गाउँपालिका अध्यक्ष बिर्खबहादुर बिष्टका अनुसार कार्यपालिकाको बैठकले शितल माध्यामिक विद्यालय पक्रैयालाई कक्षा ११-१२ बाट कक्षा १० सम्म,  भेरीदोभान माध्यामिक विद्यालय चाइनाबगरलाई कक्षा ९-१२ बाट कक्षा ८ सम्म, मालिका पहाड आधारभूत विद्यालय बसनडाँडालाई कक्षा १-३ बाट प्रारम्भिक बालविकास केन्द्रमा, बालज्योति माध्यामिक विद्यालय गिठाकोटलाई कक्षा ११-१२ बाट कक्षा १० सम्म कायम गर्ने निर्णय गरेको छ ।

त्यसैगरी दीपज्योति आधारभूत विद्यालय चौखेलाई कक्षा १-५ बाट कक्षा १-३ सम्म, सूर्योदय माध्यामिक विद्यालय बेल्टापूलाई कक्षा ११-१२ बाट कक्षा १० सम्म, बालकल्याण आधारभूत विद्यालय शिलटाकुरीलाई १-३ बाट प्रारम्भिक बालविकास केन्द्रमा, जनज्योति माध्यामिक विद्यालय मेलचौरलाई कक्षा ११-१२ बाट कक्षा १० सम्म तह मिलान गर्नका लागि गाउँ शिक्षा समितिले गरेको निर्णय अनुमोदन गरेको छ ।

त्यस्तै अमरज्योति आधारभूत विद्यालय सल्लीचौरलाई कक्षा १-५ बाट कक्षा १-३ सम्म, चन्द्रोदय आधारभूत विद्यालय सहरेलाई कक्षा १-५ बाट कक्षा १-३ सम्म, जनसहयोग आधारभूत विद्यालय माथिल्लो आमडाँडालाई कक्षा १-५ बाट कक्षा १-३ सम्म, जनप्रिय माध्यामिक विद्यालय हाँसिबाङलाई कक्षा ९-१० बाट कक्षा ८ सम्म मिलान गर्ने निर्णय भएको अध्यक्ष बिष्टले जानकारी दिनुभयो ।

उहाँका अनुसार सरस्वती माध्यामिक विद्यालय चिन्तुलाई कक्षा ९-१० बाट कक्षा ८ सम्म, शीव माध्यामिक विद्यालय काफलबोटलाई कक्षा ९-१० बाट कक्षा ८ सम्म, ज्ञानज्योती आधारभूत विद्यालय टिमुरबोटलाई कक्षा १-३ बाट प्रारम्भिक बालविकास केन्द्रमा र बालकल्याण आधारभूत विद्यालय पाखेरोललाई कालिका आधारभूत विद्यालयको शाखा विस्तार गर्ने निर्णय गरिएको छ ।

विद्यार्थी संख्या, भौतिक पूर्वाधार, शिक्षकहरुको दरबन्दी, विद्यालय–विद्यालय बिचको दुरी लगायतका आधारमा विद्यालय समायोजन तथा तह मिलान गरिएको गाउँपालिका अध्यक्ष बिष्टले बताउनुभयो । 

अध्यक्ष बिष्टका अनुसार विद्यालय समायोजन, दरवन्दी मिलान तथा प्रधानाध्यापक व्यवस्थापन सम्बन्धी कार्यविधि, २०७९ को पहिलो संशोधन सहितले तोकेका आधारहरु, विद्यालयमा नियमित रुपमा अध्ययनरत विद्यार्थी संख्या, विद्यालयहरु बीचको दुरी, विद्यालयमा भएको स्वीकृत शिक्षक दरबन्दीको अवस्था, संघीय सरकारवाट अनुदान थप नभएको साथै गाउँपालिकाबाट समेत आवश्यकता अनुसार दरवन्दी प्रदान गर्न नसकिने अवस्था भएकोले विद्यालय समायोजन तथा तह मिलान गरिएको हो ।

010-1713105938.jpeg
 

एक वड़ा एक माध्यामिक विध्यालयको अवधारणालाई कार्यान्वयन गर्नको लागि वडा नम्बर ५ मा दुई वटा माध्यामिक विध्यालय वडाको पायक ठाउँमा नरहेकोले अर्को शैक्षिक सत्रमा दुबैलाई समायाजेन गरी एउटै बनाउने र हाललाई दुबै विद्यालयमा कक्षा ९-१० सञ्चालन गर्ने भएको छ । 

कक्षा ९-१० सञ्चालन भई कक्षा ८ मा समायोजन भएको विद्यालयमा शैक्षिक सत्र २०८१ मा कक्षा १० लाई निरन्तरता नदिने र कक्षा ९ मा नयाँ भर्ना रोक्का गर्ने साथै कक्षा ११-१२ सञ्चालन भइ कक्षा १० मा समायोजन भएका विद्यालयमा कक्षा १२ लाई शैक्षिक सत्र २०८१ निरन्तरता दिने र कक्षा ११ मा नयाँ भर्ना रोक्का गर्ने, प्राविधिक विषय सञ्चालित विद्यालयमा हालको कक्षा १० र १२ लाई निरन्तरता दिने र कक्षा ९ र कक्षा ११ मा नयाँ भर्ना रोक्का गर्ने गाउँ कार्यपालिकाले सार्बजनिक गरेको निर्णयमा उल्लेख गरिएको छ ।

मर्जर तथा समायोजन भएका विद्यालयका शिक्षकहरुलाई गाउँपालिकाको दरबन्दीमा राखी अर्को शिक्षा समितिको बैठकबाट आवश्यक निर्णय गर्ने समेत गाउँपालिकाले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २, २०८१  २०:३३
प्रतिक्रिया दिनुहोस्